उपभोक्ताबाट महसुल असुल्ने, धारामा पानी नछोड्ने संस्थान विरुद्ध ज्ञापनपत्र

‘पाँच वर्षदेखि धारामा पानी आएन’

सुर्खेत । महशुल बुझाएर पनि पिउने पानी समेत नागरिकले पाउँदैनन् भने अरु के नै पाउन सक्छन्, सरकार ? । पानी बिनाको जीवन सम्भव हुँदैन । नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको छ ।  प्रत्येक कल्याणकारी राज्यमा शुद्ध एवं स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारलाई बञ्चित गरिनु हुँदैन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर–२, स्थित पिपलचौतारी टोल, शान्ति टोल र भैरव टोलका नागरिकले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई मासिक महशुल बुझाएर पनि पिउने पानी पाउन सकेका छैनन् । संस्थाको स्किम नम्वर ६ अन्तर्गत साविक उत्तरगंगा गाउँविकास समितिका–६ र ७ नम्वर वडाका खानेपानी धारामा २०७४ फागुनदेखि पानी नै नआएको भैरव टोलका अध्यक्ष देबेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनले विगत ५ वर्षदेखि स्किम नम्वर ६, का नागरिकले संस्थालाई पटक–पटक मौखिक तथा लिखित खानेपानी वितरण नियमित गरिदिन माग गरेपनि सुनुवाई नभएको बताए । संस्थानका कार्यालय प्रमुखले नागरिकको अनुरोधलाई वेवास्ता गरेपछि बाध्य भएर स्किम उपभोक्ता मिलेर विहीबार ज्ञापन पत्र बुझाएको उनको भनाइ छ ।

‘जडान गरिएका धारामा पानी नआउँदापनि उपभोक्तालाई महशुल र हर्जना तिरिराख्नु पर्ने अन्यायपूर्ण व्यवहारबाट आजित भएर अन्तिम पटकका लागि भनेर ज्ञापन बुझाएका छौं,’ उपभोक्ता गोपालराज सुनारले भने, ‘ज्ञापनपत्र पेश गरेपनि पश्चात पनि सुनुवाई नभए थप विरोधका कार्यक्रमसहित संस्था विरुद्ध कानूनी उपचार खोजिने छ ।’

उनले सुख्खायाममा मात्र नभएर हिजोआज वर्षातको समयमा समेत धारामा पानी नआउँदा उपभोक्ता हित विपरित संस्थाको अन्यायपूर्ण ज्यादती विरुद्ध आवाज उठाई दिन आम उपभोक्तासँग आग्रह गरे । यता ज्ञापन पत्र बुझ्दै संस्थाले केही दिनमै आम उपभोक्तालाई सहज पानी वितरणको व्यवस्था मिलाउने आश्वासन दिएको उनको भनाइ छ ।

ज्ञापनपत्रमा स्किम नम्वर ६ अन्तर्गतका सबैघरधुरीमा पालो लगाएर भएपनि नियमित पानी वितरण गरिनु पर्ने, धारामा पानी नआएको मिति २०७४ फागुन महिनादेखिको पानी महशुल र हर्जाना मिनाहा गर्नुपर्ने र बुझाईसकेको महसुल र हर्जाना फिर्ता गर्नुपर्ने तथा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि त्यही क्षेत्रको अग्लो स्थानमा रिजर्व टंकी निर्माण गरि वितरण लाईनलाई प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानबाट सञ्चालन गरिनु पर्ने माग रहेका छन् ।

पिपल चौतारी टोलका अध्यक्ष शान्ति सार्की, शान्ति टोलका अध्यक्ष मञ्जु भण्डारी र भैरव टोलका अध्यक्ष देवेन्द्रबहादुर गुरुङको नेतृत्वमा गएका उपभोक्ताहरुले संस्थानलाई ज्ञापन पत्र बुझाएका थिए ।

Translate »