हुम्लामा नियमित हवाई उडान सञ्चालन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिमीकोट विमानस्थल, हुम्लामा नियमित रूपमा हवाई उडान सञ्चालन गर्नू, गराउनू नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले हवाई उडान नियमित हुनुपर्ने भएकोले उचित भाडादरसमेत निर्धारण गरी निवेदनको अन्तिम सुनुवाइ नहुन्जेलसम्म हाललाई हुम्लामा नियमित रूपमा हवाई उडान सञ्चालन गर्नू, गराउनू भनी अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता रामबहादुर शाहीले प्राधिकरणविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए । ‘हुम्ला जिल्ला पूर्णरूपले सडकको माध्यमबाट नजोडिएको हुँदा मूलत ः हवाई मार्गबाट मात्र आवतजावत गर्नुपर्ने अवस्था रहेको भन्ने देखिन्छ,’ आदेशमा भनिएको छ, ‘‘मूलतः हवाईमार्गको मात्र भर पर्नुपर्ने अवस्था रहेकोमा औषधि उपचार गर्नुपर्ने बिरामी, अशक्त, गर्भावस्था, वृद्धवस्थाजस्ता विशेष अवस्थामा रहेका व्यक्तिहरू तथा व्यावसायिक काम वा काम विशेषले आफ्नो बासस्थानबाट नेपालगन्ज तथा काठमाडौंलगायतका क्षेत्रमा आवतजावत गर्न हवाई उड्डयनको अनियमितताका कारण हुम्लावासीलगायतका नागरिकमा पर्न गरेको असुविधा र नोक्सानीसमेतलाई मध्यनजर गर्दा हवाई उडान नियमित रूपमा हुनुपर्ने भएकोले उचित भाडादरसमेत निर्धारण गरी निवेदनको अन्तिम सुनुवाइ नहुन्जेलसम्म हाललाई सिमीकोट विमानस्थल, हुम्लामा नियमित रूपमा हवाई उडान सञ्चालन गर्नू, गराउनू भनी प्रत्यर्थीहरूको नाममा अन्तरिम आदेश जारी गरी दिएको छ ।’

अन्तरिम आदेशको कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाहरूसँग समेत परामर्श गरी ३० दिनभित्र नियामक निकायसमेतको अधिकार प्रयोग गरी प्रगति विवरण अदालतको मुद्दा महाशाखा प्रमुख समक्ष पेस गर्नू भनी आदेश दिएको छ । उक्त रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, मेघराज पोखरेल, निवेदक अधिवक्ता रामबहादुर शाहीलगायतले बहस गरेका थिए । अन्नपूर्ण पोष्ट

Translate »