कृषिजन्य उद्योगमा कम जोखिम छ : कर्णालीका कृषि मन्त्री शर्मा


सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रसाद शर्माले हाल शक्तिराष्ट्रहरु वीच भईरहेको आपसी लडाईका कारण उत्पन्न विश्वव्यापी आर्थिक मन्दीले कर्णालीका उद्योग धन्दा, व्यापार व्यवसायमा समेत असर पु¥याईरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको ‘संस्थागत रणनीति विकास कार्यशाला’ को आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मन्त्री शर्माले मन्दीको असर प्रायः देशका सबै प्रकारका उद्योग धन्दामा परेपनि कृषि आधारित उद्योगहरु कम जोखिममा रहेको जनाए ।
उनले कर्णालीमा कृषि आधारित उद्योगमा लगानी गर्न ईच्छुक उद्यमीका लागि प्रदेश सरकार करमा छुटसहित नीजि क्षेत्रसँग हरेक स्तरमा हातेमालो गर्न तयार रहेको जिकिर गरे । तीनै तहका सरकार र नीजि क्षेत्रसँगको सहकार्यबाटै कर्णालीको औद्योगिक विकासमा फड्को मार्न सकिने उनको भनाइ थियो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कोषाध्यक्ष निरक केसीले आर्थिक मन्दीका कारण नीजि क्षेत्रले भोग्नु परेको समस्या समाधानका लागि सरकारले प्याकेजमै कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए ।
उनले कर्णालीको दिगो आर्थिक विकासका लागि सरकारले स्पष्ट औद्योगिक नीति बनाउन सकेमा नीजि क्षेत्र संकटका बाबजुद सहकार्य गर्न तयार रहेको बताए । जीआईजेडको आर्थिक सहयोगमा दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा कर्णाली प्रदेशका दश ओटै जिल्लाका उद्यमी तथा व्यापारीहरुको सहभागिता रहेको छ ।


