७० करोडको खसीबोका निर्यात


सल्यान । सल्यानबाट ७० करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाबाट ७० करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि २ वटा स्थानीय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निर्यात भएको अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको थियो । यो त्यस आर्थिक वर्षको तुलनामा झण्डै झन्डै १७ करोड बढी निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए ।
सल्यान बाख्रा पालनका लागि निकै सम्भावना भएको र उपयुक्त ठाउँ मानिन्छ । जिल्लाका किसानहरूको घर–घरमा बाख्रा पाल्ने गरेका छन् । जिल्लामा ४ लाख भन्दा बढी सङ्ख्यामा बाख्रापालन हुँदै आएको कार्यालय प्रमुख महतले बताए । बाख्रा पालनलाई बढवा दिन प्रदेश सरकार र स्थानीय तहबाट एक पालिका एक पशु वस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको महतको भनाइ छ ।

जिल्लामा व्यावसायिक बाख्रापालन फस्टाउँदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढिरहेको छ । प्रत्येक घरले सामान्य तह ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख महतले जानकारी दिए । बाख्रापालन प्रवर्द्धनका लागि बाख्रा वितरण, उन्नत जातका बोका खरिद खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा पशुसेवा कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीले बताए ।
सल्यानका खसी बोका काठमाडौं, पोखरा, धनगढी लगायतका प्रमुख सहरमा बढी माग हुने गर्दछ । सल्यानका खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरूले बढी मूल्य हाल्ने गरेको पाइएको छ । जङ्गलमा घाँससँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने व्यापारीहरू बताउँछन् । जिल्लाका कपुरकोट, सल्ली बजार, कालीमाटी, रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सूचना अधिकारी केसीले जानकारी दिए । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका बाख्रापालक किसानको आर्थिक स्थितिमा समेत सुधार आउन थालेको छ ।

