मङ्सिर ९ गते नेपालगञ्ज म्याराथन हुने
बाँके । नवौं नेपालगञ्ज म्याराथन आउँदो मङ्सिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष ९ गते हुन लागेको हो ।
म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ ।
यस वर्ष अघिल्लो वर्षमा भन्दा चार विधा थप गरि १४ वटा विधा समावेश गरिएको छ । स्कुल स्तरीय बाह्य जिल्ला र स्कुल स्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको ठकुरीले बताए ।
स्कुल स्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।