नेपालगञ्जका छाडा पशुचौपाया कान्जीहाउसमा

 

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज बिहान वडा नम्बर २१ बिर्तास्थित कान्जीहाउसमा लगिएको हो ।

बजारमा छाडा पशुचौपायाको सङ्ख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्‍याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकिकृत गरेर एकसाथ कान्जीहाउस पुर्‍याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पु¥याएको हो ।

छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि सँगसँगै पुग्नुभएको थियो । कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिएका छन् । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसँग रेखदेख गर्न निर्देशन दिए ।

भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले जनाए । त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उनको भनाई छ । छाडा पशु चौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ । नगर प्रमुख बिस्टसँगै प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल लगायत कान्जीहाउस पुगेका थिए ।

पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाइ भइरहेको छ । कान्जीहाउस पुर्‍याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ । उनीहरुलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताए ।

Translate »