नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार कार्यक्रम लागू गरिँदै


बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।
यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गरेका हुन् ।

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेका छन्। अब नगर प्रमुख विष्टले तोक लगाएपछि उक्त मस्यौदा नगर कार्यपालिकामा प्रस्तुत हुनेछ । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ ।
‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायहरूमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिहरूलाई व्यावसायिक गतिविधिहरूमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यावसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइनेछ । सहरी सुशासन, जनसहभागिता प्रबद्र्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरवासीहरुले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्ने गरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालन गर्न वाञ्छनीय देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । (रेडियो नेपाल)

