प्रधानमन्त्री नै अराजक भएको कांग्रेस नेता कोइरालाको आरोप

चितवन ।  नेपाली कांग्रेसका नेता शेखर कोइरलाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको आरोप लगाएका छन् ।

भरतपुरमा शनिबार आयोजित नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता कोइरलाले आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री दाहालको भाषणको विषयमा आपत्ति जनाएका हुन् । ‘उहाँ पार्टीको नेताको हैसियतमा बोलेको त हैन । नेताको हैसियतमा बोले मेरो आपत्ति हुने थिएन । तर प्रधानमन्त्री त्यसरी बोल्नु गैर जिम्मेवारी हो,’ कोइरालाले भने ।

नेता कोइरालाले धरानमा भएको घटनापछि धर्मको नाममा जातीय द्वन्द्व बढाउने खतरा पनि रहेको टिप्पणी गरे । ‘म धरान पुगेर पनि बुझेको छु । सबै धर्मका प्रतिनिधि र सुरक्षा निकायसँग पनि छलफल गरेको छु । त्यहाँ जे भइरहेको छ यसमा धार्मिक रंग दिए जस्तो देखिन्छ । के होला भनेर मैले बुझेँ पनि । धर्मका नाममा जातीय द्वन्द्व हुने पो हो कि भन्ने चिन्ता छ,’ नेता कोइरालाले भने ।

उनले काठमाडौंका मेयरले सिंहदरबारमा आगो लगाउँछु भनेर सामाजिक सञ्जालमा लेख्नु पनि अराजकता भएको बताए ।

देशमा राजनैतिक, आर्थिक, धार्मिक, सांस्कृतिकरूपमा मात्रै नभएर कूटनैतिक अराजकता पनि बढेको उनले बताए । ‘देशमा चारैतिरबाट अराजकता बढेको छ । नेपाली कांग्रेसलाई चारैतिरबाट आक्रमण भएको छ । यसलाई चिर्न कांग्रेसको सरकार चाहिन्छ,’ नेता कोइरालाको भनाइ थियो ।

संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक कसैको निर्णयले काम नगर्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्न जरूरी रहेको र त्यसपछि मात्र कांग्रेस अगाडि बढ्ने उनले बताए ।

नेता कोइरालाले अहिलेको निर्वाचन पद्धति पनि बदल्न छलफल सुरू गर्नु पर्ने र आउँदो निर्वाचनअघि नै निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

कोइरालाले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी मिश्रित निर्वााचन प्रणालीलाई बदलेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्र राख्न राम्रो हुने बताए । मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने र खिचडी सरकारमात्र बनिरहने उनको भनाइ थियो । प्रत्यक्षतर्फ अहिले कायम १६५ सिट संख्या बढाएर संविधानसभाको जस्तै २४० बनाउन सकिने उनले बताए ।

‘यो ७५ सिट महिला र दलितका लागि आरक्षित गरौं । आदिवासी अल्पसंख्यकका लागि समानुपातिक तरिकाले राष्ट्रिय सभा गठन गरौं । यो बारेमा संविधान संशोधन गर्न बहस चलाऔं । मलाई लाग्छ एमालेले मान्ला । माओवादी र अन्यले नमान्लान् पनि । तर बहस गर्दै गएपछि आउँदो निर्वाचनसम्म एउटा निर्णयमा पुग्न सकिन्छ,’ नेता कोइरालाले भने । ई–कान्तिपुर

Translate »