नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै
काठमाडौं । तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपालले शुक्रवार चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छयाँलेक तिंकरमा बिओपी स्थापना गर्यो ।
सीमा सुरक्षा विभाग प्रमुख रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले बिओपीको उद्घाटन गरे । उद्घाटनमा उनले मातहतका निकायलाई सीमा सुरक्षाको महत्त्वबारे सशस्त्र प्रहरीको अवधारणा सम्झाए ।
सशस्त्र प्रहरी बल नेपाल नं.५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको उक्त बिओपी सो गुल्मबाट करिब ११ किलोमिटरको दुरीमा छ । सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकका तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।
सशस्त्रले चीनतर्फ गस्ती गरिरहेको हुम्लाको हिल्सा नाका सबैभन्दा संवेदनशील मानिन्छ । मानसरोवर यात्राका लागि भारतीय पर्यटकहरू त्यही नाका भएर जाने भएकाले त्यहाँ चिनियाँ सुरक्षाकर्मी, चिनियाँ जनमुक्ति सेनाका अधिकारी र सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूबिच समन्वय हुने गरेको छ । जसले गर्दा सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकालाई प्राथमिकतामा राखेको छ । नागरिक न्यूज