विभिन्न कार्यक्रम गरी सल्यानमा २० औं निजामति दिवस मनाईयो
सल्यान । सल्यानमा २० औं निजामति दिवस विविध कार्यक्रम गरि मनाईएको छ । कर्मचारी मिलन केन्द्रको संयोजन तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार निकालिएको प्रभातफेरीले बजार परिक्रममा गरि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
सरकारले विसं २०६२ देखि हरेक वर्षको भदौ २२ मा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको अवसरमा यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा सल्यानका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले विभिन्न पेशा मध्ये निजामति सेवा सबैभन्दा चुनौतीपूर्ण तर गौरवान्वित पेशा भएको जिकिर गरे । उनले लोकसेवा पास गरेपछि पर्सनलबाट पब्लिक भईने हुँदा पदिय मर्यादा र यसको गौरव बचाई राख्नु कर्मचारीकै जिम्मेवारी भएको बताए ।
जस्तोसुकी परिस्थितिमा समेत निजामती कर्मचारी स्थायी सरकार भएकाले आफ्नो जिम्मेवारी र कत्र्वयलाई भुल्न नहुने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियनका निर्वतमान केन्द्रीय उपाध्यक्ष तथा उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृपजंग शाहीले मैदानमा उत्रेका निजामति कर्मचारीहरुले निडरतापूर्वक हरेक परिस्थितिको साम्ना गर्दै राष्ट्रसेवामा समर्पित हुन आव्हान गरे ।
उनले सेवाग्राहीको मुस्कान आउने गरी फरक ढंगले सेवा प्रवाह गर्न सके सरकारको सफलता कर्मचारीको कामबाट झल्किने जनाए । भ्रष्टाचार देशकै शत्रु भएकाले यसका विरुद्ध सबै कर्मचारी एकजुट भएर प्रतिकार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।