दैलेखका प्रजिअ हमाललाई अध्यागमन खटाईयो

काठमाडौं । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरिएको छ ।

उनलाई दैलेखबाट सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको हो । गृह मन्त्रालयले सोमबार १० जना सह–सचिवको सरुवा गरेको छ ।

अध्यागमन विभागको महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित १० सह–सचिवको सरुवा गरिएको हो । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअ बनाइएको छ ।

विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । अध्यागमन विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई हटाइएको थियो । विभागमा लगिएका तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए ।

उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह–सचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सह–सचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअमा सरुवा गरिएको छ ।

त्यसैगरी मन्त्रालयका सह–सचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ । महोत्तरीका प्रजिअ दीपक कुमार पहाडीलाई भने गृह मन्त्रालयमा ल्याइएको छ । ई–कान्तिपुर

Translate »