बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू गरिने


बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनमा टाइम कार्ड लागू गरिने भएको छ । टाइम कार्ड लागू गर्ने मिति र स्थानबारे भने थप छलफल गरेर टुङ्गो लगाइने भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाबीच छलफलमा यातायात व्यवसायी, सुरक्षा निकाय, वन संरक्षणकर्मी लगायतका सरोकारवालाले निकुञ्ज क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि सवारी साधनका लागि टाइम कार्ड लागू गर्ने लगायतका चार बुँदे निर्णय गरेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा निर्धारित अधिकतम् गति ४० किलोमिटर प्रतिघण्टा कायम गरिएकोले सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने र सो सडक खण्डमा टाइम कार्ड लगाउनको लागि थप छलफल गर्ने निर्णय भएको छ ।
त्यसैगरी निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय सरोकारवालाले गरेका छन् ।

