घुस रकमसहित प्रधानाध्यापक पक्राउ


बर्दिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालले बताए । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।

