सहायक वन अधिकृत घुस रकमसहित पक्राउ

भदौ २८, डोटी । डोटीमा घुससहित एक जना सहायक वन अधिकृत पक्राउ परेका छन् । सव डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद ५ हजार घुस रुपैयाँ सहित बिहिवार रंगे हात पक्राउ परेका हुन् ।
स्थानीय दाउरा व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा स्थानीयले अधिकृत गिरीलाई रङ्गे हात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अधिकृत गिरीले यसअघि पनि दाउरा व्यवसायीबाट १० हजार रुपैयाँ लिएको खुलेको छ ।

स्थानीय जयानन्द ओझाको लालपुर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी सङ्कलित दाउराको निकासीका लागि अधिकृत गिरीले १० हजार रुपैयाँ अगाडी नै लिइसकेको व्यवसायी भण्डारीले बताए ।
सबै कर्मचारीलाई मिलाउने बहानामा थप ५ हजार रुपैयाँ लिने क्रममा गरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नरभान साउँदले गिरीलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धानका लागि आवश्यक सोधपुछ भइरहेको बताए ।