महँगी तथा भ्रष्टाचार विरुद्ध राप्रपा नेपालको सुर्खेतमा प्रर्दशन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज सुर्खेतको वीरेन्द्रनगरमा मूल्यबृद्धिलगायत जनजीविकाको विषयलाई लिएर प्रदर्शन गरेको छ ।
भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपाल कर्णाली प्रदेशको नेतृत्वमा आयोजित जनप्रर्दशन कार्यक्रममा दिनप्रति बढ्दो दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि नियन्त्रण, वर्षातले किसानको नष्ट गरेको अन्नबालीको क्षतिपूर्ति, लम्पीस्किन रोग प्रभावित किसानलाई उचित राहत, बजार अनुगमन बढाउन तथा वर्षातले विगारेका सडक मर्मत सुधार गर्न सरकारसँग माग गरेको हो ।

स्थानीय मंगलगढी चोकबाट शुरु भएको बहृत जनप्रर्दशन ¥याली घण्टानजिकको मैदानमा पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांस वक्ताहरुले संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोध गरेका थिए ।
सभालाई सम्बोधन गर्दै राप्रपा नेपाल कर्णाली प्रदेश ईन्चार्ज ईश्वर श्रेष्ठले महँगीबाट मजदूर, किसान र आम नागरिक प्रत्यक्ष प्रभावित बनिरहेकाले मूल्यबृद्धि नियन्त्रण गर्दै तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानकर्षण गराए ।
उनले देशभर महिला र बालबालिकामाथि श्रृखलावद्ध हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरुको बृद्धि भईरहेकाले शान्ति सुरक्षा कायम गरि दोषी माथि कडा कार्वाही गर्न समेत सरकारसँग आग्रह गरे ।