कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री द्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गरे ।
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारथ सलामी अर्पण गरेको थियो । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्ड आगामी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा रहँदा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पुत्री गङ्गा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत रहेका छन् ।