सुर्खेतमा नेताहरुले स्वर्गीय नेम्वाङलाई ‘राजनेता’ को रुपमा सम्झिए

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वर्गीय सुवासचन्द्र नेम्वाङ कुनै एउटा अमुक पार्टीको मात्र नभई समग्र राष्ट्रिय नेताको रुपमा स्थापित व्यक्तित्व भएको बताएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेशले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजना गरेको ‘सुवास र संविधान’ प्रवचन कार्यक्रममा उपाध्यक्ष पाण्डेले राष्ट्रलाई नेता नेम्वाङको निधनबाट अपूर्णनीय क्षती पुगेको जिकिर गरे ।

स्वर्गीय नेम्वाङले देश र जनतालाई केन्द्र भागमा राखेर सकारात्मक परिवर्तन, सामाजिक न्याय, समानता, सुशासनका लागि ठूलो योगदान पु¥याएको   उनको भनाइ थियो ।

‘पार्टी राजनीतिमा अवचलित रुपमा लागेका स्वर्गीय नेम्वाङले देश र जनताका लागि पु¥याएको योगदान कहिल्यै भुल्न सकिदैन्,’ उनले भने, ‘भद्र र शालीन नेम्वाङलाई हामीले गुमाएका छौं । देशलाई बनाउन गर्नुभएको सकारात्मक प्रयासलाई सबैले अगाडी बढाउनु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ ।’

तत्काल कुनैप्नि हाल विकल्प सोच्न नसकिने भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको समेत जिकिर गरे । उनले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत औल्याए ।

यस्तै नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले एउटा ईमानदार, स्वच्छ छविका नेता स्वर्गीय नेम्वाङले देश र जनताका लागि पु¥याएको योगदान अतुलनिय रहेको बताए । सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियाको थालनी तथा संविधान जारी गर्न उहाँले खेलेको समन्वकारी भूमिका स्मरणीय रहेको जनाए ।

‘राजनीतिक घटनाक्रम कतिबेला के हुन्छ, थाहा हुँदैन । जातीय राज्यले देशलाई समस्या ल्याउँछ भन्नुभएको थियो । कसैलाई पनि उत्तेजित गर्ने स्वभाव उहाँमा थिएन । यहीं नै उहाँमा विशेषता थियो,’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको मात्र नभई देशकै ‘राजनेता’ भएको जिकिर गरे । उनले नेम्वाङ नेपालको संविधानसभाको अध्यक्ष मात्र नभई उहाँ राष्ट्रको एक सच्चा नायक भएको बताए ।

‘देशलाई शान्तिको बाटोमा ल्याउन र राजतन्त्रको अन्त्य गर्नमा जुन खालको योगदान उहाँले दिनुभयो, त्यो अविस्मरणीय छ,’ उनले भने, ‘हामीले उहाँबाट धेरै कुरा सिकेका छौं र अझ धेरै सिक्न बाँकी छ । देशलाई ठूलो गुन लगाउनु भयो । उहाँप्रति हामी सधै ऋणी रहने छौं ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता सीता नेपालीले स्वर्गीय नेम्वाङबाट निष्ठा, देश केन्द्रित, जन केन्द्रित र न्याय केन्द्रित राजनीतिबाट पाठ सिकेर सबै राजनीतिकर्मीहरु अगाडी बढ्नुपर्नेमा जोड दिईन् । उनले राष्ट्रियताका साझा मुद्दा र संविधान कार्यान्वयनमा सबै मिलेर अगाडी बढ्नु नै नेम्वाङप्रतिको सच्चा सम्मान हुने बताईन् ।

‘देशमा नेपाली जनताको त्याग र बलिदानले ठूलो परिवर्तन भएको छ । अब देशको समृद्धिको यात्रालाई नेकपाले पूरा गर्छ भन्ने सपना नेम्वाङकै पालामा पूरा हुन सकेन् । त्यो मात्र मेरो मनमा अहिलेपनि खट्की रहन्छ,’ उनले भनिन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीले कसैको आँखामा नबिझाउने, देशकै उत्कृष्ट नेता, संविधानको पर्यायवाची जस्तै मानिने नेम्वाङको निधनबाट देशको राजनीति र दलहरुलाई ठूलो क्षती पुगेको बताए ।

‘यद्यपि ! देशमा बनेको संविधान कार्यान्वयन हुन सकेको छैन् । पूर्वमा जातीय कुरा भड्किलो छ । राजनीति पार्टीप्रति वितृष्णा जागेको छ । संविधान सम्झौताको दस्तावेजको रुपमा रह्यो । विदेशीने नेपाली युवा र आम नेपालीले भोग्नु परेका समस्या अन्त्यका लागि हालसम्मका सरकारले कुनै ठोस योजना बनाउन सकेका छैनन् । यसमा भने हामी चुकेका छौं,’ उनले भने, ‘बरु, अनागरिकलाई नेपाली नागरिक हुन पाउने गरी नागरिकता विधेयक पारित गरियो । यस्ले जनतालाई निराशा र दुःखी बनाउने काम भयो ।’

Translate »