बाँके कारागारबाट २३ कैदीबन्दी जेल मुक्त


नेपालगञ्ज । बाँके कारागारबाट २३ जना कैदीबन्दी जेल मुक्त भएका छन् । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न समयमा बाँके कारागारमा कैदीबन्दी जीवन विताईरहेका २३ जना कैदीबन्दीलाई जेल मुक्त गरेको हो ।
सरकारले ४० प्रतिशत माथि कैदभुक्तान गरेकाको संविधान दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेपछि २३ जना कैदीबन्दी जेलमुक्त भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।

उनले बाँके कारागारमा रहेका १६ जना पुरुष कैदीबन्दी र जयन्दू बाल सुधार गृहमा रहेका सात जना नाबालक गरी कुल २३ जना कैदीबन्दीको कैद मिनाहा भएको बताए ।
उनका अनुसार कैद मिनाहा हुने कैदीबन्दीहरु चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दा लगायतमा कैद भुक्तान गरिरहेका थिए ।
बाँके कारागार बाँकेमा ३ सय ५० जना कैदीबन्दी अट्ने क्षमता भएपनि हाल ९ सय ४६ जना कैदीबन्दी रहेको जेलर शाहले जानकारी दिए । उनका अनुसार कारागारबाट १६ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएसँगै अब नौ सय ३० जना कैदीबन्दी रहेका छन् ।

