‘डिल स्मृति अक्षय कोष’ का लागि नानकलाद्वारा ४ हजार सहयोग

सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेत शाखाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ का लागि स्थापना गर्न लागेको अक्षय कोषमा स्वर्गीय श्रमजीवि पत्रकार डिलप्रसाद शर्माकी बहिनी नानकला शर्माले ४ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
हाल स्याङजाको भिरकोट नगरपालिकामा उद्यम विकास सहजकर्ताको पदमा कार्यरत नानकलाले अक्षय कोषमा ठूलो रकम दिन नसकिएपनि पत्रकारहरुले पत्रकारको उत्थानका लागि गर्न लागिएको ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ लाई सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताईन् ।
उनले आगामी दिन समेत ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ लागि आफ्नो नैतिक तथा भौतिक सहयोग भईरहेन जनाईन् । चौतारी सुर्खेतले शुरु गरेको एक लाख पुरस्कार राशीको डिल स्मृति पत्रकारिता पुरस्कारका लागि विभिन्न क्षेत्रका दाताहरुबाट अक्षय कोषमा सहयोग रकम जम्मा हुने क्रम शुरु भएको छ ।

‘डिल स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापनार्थ असोज १९ गते वीरेन्द्रनगरमा वृक्त चित्र ‘सहायक श्रीमान र भाग्यले बाँचेहरु’ को विशेष प्रर्दशनी गर्न लागिएको चौतारी सुर्खेतका अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए । उनले सहायक श्रीमान कर्णालीका हिमाली जिल्लामा विद्यमान बहुपति प्रथाका बारेमा समेटिएको डकुमेन्ट्री फिल्म हो ।
सहायक श्रीमान फिल्मले दर्जन बढी अन्तर्राष्ट्रिय अवार्ड जितिसेकेको छ भने हाल विभिन्न देशहरुमा प्रर्दशन भईरहेको छ । अर्को ‘भाग्यले बाँचेकाहरु’ २०७२ सालको भूकम्पमा चमत्कारीरुपमा बाँच्न सफल भएका नेपालीहरुको कथा हो । यो बेलायतको संसदसहित विश्वका चर्चित फिल्म महोत्सवहरुमा प्रर्दशन भएर १७ वटा अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको फिल्म हो ।
यी दुबै फिल्म सञ्चारकर्मी गणेश पाण्डेले निर्माण गरेका हुन् । सुर्खेतमा प्रर्दशन हुने ती फिल्म हेर्न विद्यार्थीका लागि १ सय रुपैयाँ तथा अन्यका लागि ५ सय र १ हजार रुपयाँ दरका टिकट विक्री वितरण भईरहेका छन् ।