‘सामाजिक सेवा दिवस, सामाजिक कार्यप्रतिको सम्मान’

सुर्खेत । ४४ औं सामाजिक सेवा दिवस सुर्खेतसहित देशभर विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा बृद्धा आश्रम रहेका असाह तथा बृद्धबृद्धालाई फलफूल वितरण गर्नुका साथै तीन जनालाई नागरिक सम्मानसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

महासंघले वरिष्ठ कलाकार प्रेमदेव गिरी, चर्तित सामाजिक अभियान्ता मिनबहादुर शाही र शैक्षिक तथा बौद्धिक व्यक्तित्व शिला गुरुङलाई सम्मान गरेको छ । नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले समाज सेवा निःस्र्वाथभावले गरिने कर्म भएपनि पछिल्लो समय यसको आवरणमा अनप्रेक्षित कार्यहरु हुने गरेको बताए ।

उनले समाज रुपान्तरण प्रक्रियासँगै समाज सेवाको स्वरुप समेत बद्लिएको जनाए । ‘समाज सेवामा मेवा मात्र खोज्ने होइन, भनाइ र गराईमा समेत एकरुपता ल्याउन आवश्यक छ,’ उनले भने, ‘अबको समाज सेवा आम नागरिकलाई अनुभूति हुने गरी विकास निर्माणको क्षेत्रमा काम गर्नु पर्ने देखिन्छ ।’

कार्यक्रममा सुर्खेतका नागरिक अगुवा पिताम्वर ढकालले सामाजिक सेवा दिवस सामाजिक कार्यप्रतिको सम्मान र सम्झना भएको हुँदा विभिन्न संघसंस्थाले औपचारिकता मात्र नभई विशेष महत्वको दिनका रुप लिन आवश्यक रहेको औल्याए ।

उनले समाज सेवाको सवालमा अनेक खाले विकृति र विसंगतिहरु हावी भैरहेको समयमा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशले एक कदम माथि उठेर कार्यक्रम गरेको प्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा समाजसेवी हरिप्रसाद अधिकारी, घनश्याम केसी र प्रकाश सारुलगायतले दिवसको महत्वका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

 

Translate »