अनुसन्धान तथा शिक्षा नेटवर्क स्थापनाका लागि एमयु र एनआरईएन वीच सम्झौता


सुर्खेत । उच्च गतिको अनुसन्धान एवं शिक्षा नेटवर्क स्थापना गर्ने उद्देश्यका लागि मध्यपश्चिम विश्वविद्यालय (एमयु) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयले आइतबार सुर्खेतमा आयोजना गरेको एक औपचारिक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्य वीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पश्चात विश्वविद्यालयलाई विश्वव्यापीरुपमा अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी र शैक्षिक संस्थाहरु वीच अनुसन्धानात्मक नेटवर्क स्थापित गर्न सहज हुने अपेक्षा राखिएको छ । यसबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई गुणस्तरीय एवं द्रुत गतिमा आवश्यक पर्ने सूचना तथा डेटाहरु निःशुल्क उपलव्ध हुने छन् ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सिंहले एनआरईएनले विगतमा गरेको सहकार्य तथा सहयोगका लागि धन्यवाद गर्दै आगामी दिनमा समेत शैक्षिक एवं अनुसन्धानात्मक कार्यलाई अगाडी बढाउन यो सम्झौता एक कडीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले एनआरईएनमा आबद्धता पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेटको निःशुल्क सेवा प्राप्त हुने जानकारी दिए ।
कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भारती जोशी, रजिष्ट्रार नारायणप्रसाद पौडेल, एनआरईएनका संस्थागत अध्यक्ष डा. भुषणराज श्रेष्ठ, संस्थापक सदस्य सुवर्ण शाक्य, कार्यकारी निर्देशक राजन पराजुली, नेटवर्क अफिसर निराजन पराजुलीलगायतको उपस्थिति रहेको थियो ।


