वीरेन्द्रनगर तनावग्रस्त : दुई छुटाछुट्टै घटनामा बालकको मृत्यु


सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा आज दुई छुट्टाछुट्टै बालक मृत्यु घटनाले तनावग्रस्त भएको छ । पहिलो वीरेन्द्रनगर–३, फोरलेन सडकखण्डको यरिचोक–मूलपानी खण्डको गोकुल कटेजनजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु घटना । दोस्रो वीरेन्द्रनगरको उषा बालवाटिका बोर्डिङ स्कुलको छात्रावासमा ८ वर्षीय बालक मृत फेला परेपछि उत्पन्न घटना ।

यी दुबै घटनामा स्थानीय प्रशासनले विवेकपूर्ण तरिकाले पीडितलाई न्याय दिने प्रक्रिया अघि बढाएपछि स्थिति नियन्त्रणमा रहेको बताईएको छ । पहिलो घटना मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर–३, भैरवस्थानमा मामाको घरमा बसेर पढ्दै आएका ५ वर्षिय बालक टुकदर्शन गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार रहेका छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।
ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडि र गोकुल कटेज नजिकैको फोरलेन सडक बालकका आफन्तले अवरुद्ध गरेका छन् ।


दोस्रो घटना वीरेन्द्रनगर–६, मा रहेको उषा बालवाटिका बोर्डिङ स्कुलको छात्रावासमा ८ वर्षीय बालक सलाम पुलामी मृत फेला परेका छन् । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका कक्षा दुई मा पढ्ने पुलामी छात्रावासको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
घटना शंकास्पद भएको भन्दै छानविनको माग राख्दै आफन्तहरु आन्दोलित बनेर शव उठाउन दिएका छैनन् । आफन्तले होस्टेल बाहिर तोडफोडसमेत गरेका छन् ।
आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । घटना भएको आसपासक्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले स्कुल व्यवस्थापक पक्षका केहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


