बाँकेमा चिकित्सकहरूको आन्दोलनले बिरामीलाई सास्ती

नेपालगन्ज । बाँकेमा चिकित्सकहरूको आन्दोलनका कारण विगत तीन दिनदेखि बिरामीले सास्ती पाएका छन् ।
नेपालगन्ज र कोहलपुरमा रहेका अधिकांश अस्पतालले आपत्कालीन बाहेकका सबै सेवा ठप्प पार्दा बिरामीले सास्ती पाएका हुन् ।
आन्दोलनका कारण राम्रोसँग उपचार नपाएको बिरामीहरूको गुनासो छ । चिकित्सकहरूले आकस्मिक सेवा मात्रै सञ्चालन गरेका छन् । आन्दोलनका कारण सधैँ भिडभाड देखिने अस्पतालका ओपिडी कक्षहरू सुनसान देखिन्छन् ।

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर, वेष्टर्न अस्पताल, एचसीआरसी अस्पताल लगायत ठुला साना अस्पतालले आपत्कालीन बाहेकका सेवा बन्द गरेका हुन् ।
यस्तै आन्दोलनका कारण पोलिक्लिनिक तथा क्लिनिकहरू समेत खुलेका छैनन् । नेपाल चिकित्सक सङ्घ भेरी शाखाको अगुवाइमा आन्दोलन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका छन् ।
नेपाल चिकित्सक सङ्घ भेरी शाखाका अध्यक्ष डा. विनोद थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक पटक हातपात हुन थालेपछि आन्दोलनमा उत्रिनुपरेको बताए ।