भेरीपुल क्षेत्रका अतिक्रमित घरटहरा हटाइँयो

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर क्षेत्र भित्रको भेरी पुल आसपासका क्षेत्रका अबैध घरटहरा हटाउन शुरु गरेको छ । वन कार्यालयले शनिबार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मीको सहयोगमा लामो समयदेखि अतिक्रमित प्रशान्ति बृद्धाश्रम धार्मिक वन क्षेत्रको जग्गामा बनाईएका नौ वटा घरटहरा हटाएको हो ।

ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले डोजर लगाएर घरटहरा भत्काउन बाध्य भएको डिभिजन कार्यालयको भनाइ छ । प्रशान्ति बृद्धाश्रम धार्मिक वन उपभोक्ता समितिले भेरीपुल आसपासको क्षेत्रका अतिक्रमित घरटहरा हटाउन वन कार्यालयसँग सहयोग मागेपछि ३५ दिने र ७ सूचना टाँस गरी अतिक्रमित क्षेत्र मुक्त गरिएको वन डिभिजन कार्यालयका प्रमुख मुनबहादुर रावतले जानकारी दिए ।

उनले भेरीपुल आसपासका क्षेत्रमा अतिक्रमित गरी बनाईएका घरटहाराबाट अबैध मदिरा विक्री वितरणदेखि, काठ तस्करी, सुराकी र वन्यजन्तु मार्ने जस्ता गुनासो आईरहेकाले विभिन्न निकायको समन्वय तथा सहयोगमा अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरिएको बताए ।

उनका अनुसार सुर्खेत डिभिजन वन कार्यालय क्षेत्राधिकार भित्रका अतिक्रमित वन क्षेत्रहरु मुक्त बनाउने अभियानलाई अब तिरन्तरता दिइने छ । वन कार्यालयले वन क्षेत्रमा अतिक्रमित गरी बनाईएका घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेपछि सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु समेत उत्साहित भएका छन् ।

वन क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ¥याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम कार्यालय आफैंले डोजर लगाएर भत्काउने गरेको डिभिजन प्रमुख रावतले जानकारी दिए ।

यता भेरी पुल आसपासका क्षेत्रमा अवैध संरचना बनाएर बसेकाहरुले भने आफुहरु २०४५ देखि नै बस्दै आईरहेको र विकल्प विना नै हटाईएको प्रति आपत्ती जनाएका छन् । वन कार्यालयले घरटहरा भत्काई दिएपछि आफुहरु सुकुम्बासी बन्नु परेको पीडित बलवीर बुढामगरले दुःखेसो पोखे ।

 

Translate »