सुर्खेतमा फुड पोइजनबाट तीन जना विरामी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा हरियो काँक्रा खाएर ‘फुड पोइजन’ भएको अनुमानमा एकाघरका तीन जना विरामी परेका छन् ।

विमारी हुनेमा वीरेन्द्रनगर–३, पर्वतीनगर टोलका ६५ वर्षिय चन्द्रबहादुर विसी, उहाँका छोरा ३५ वर्षिय घनश्याम विसी र २१ वर्षिय नाति हिमाल विसी रहेका छन् । विसी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष हुन् ।

आज दिउँसो ३ बजे तिर बजारबाट किनेर ल्याएको हरियो काँक्रा खाएको आधा घण्टामै बान्ता हुने, चक्कर लाग्ने र हातखुट्टा लुला हुन थालेपछि तत्काल उपचारका लागि तीनै जनालाई स्थानीय गुरुङ नर्सिङ होममा भर्ना गरिएको हो ।

‘फुड पोइजन’ भएको आशंकामा स्थानीय प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले काँक्रा विक्रेताको पसलबाट नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको छ । उपचारपछि तीनै जनाको अवस्था सामान्य बन्दै गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले विरामी सञ्चो नहुन्जेलसम्म काँक्रा विक्रेतालाई सम्पर्कमा रहिरहन निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले ‘फुड पोइजन’ भएको÷नभएको बारेमा काँक्राको परीक्षण पछि आउने रिपोर्टले मात्र भन्न सकिने बताए ।

Translate »