नेपालगन्जमा लागेको कर्फ्युका कारण घर फर्किएका नेपाली नाकामै अलपत्र

बाँके । नेपालगञ्जमा हिजोदेखि लागेको कर्फ्युका कारण भारतबाट फर्किएका धेरै नेपाली जमुनाहा नाकामा रोकिएका छन् ।

भारतको विभिन्न ठाउँबाट दशैं मनाउन घर आएका नेपाली जारी कर्फ्युका कारण नाकामै रोकिएका हुन् । नेपालगञ्जमा मङ्गलवार दिउँसो १ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरुलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिए । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याउने जनाएको छ ।

स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ ।

नेपालगञ्ज आज बिहान शान्त देखिएको छ । सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।

प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताए । कर्फ्युकै कारण भारतको लखनौ र डिल्ली जाने बिरामीहरू पनि हिजोदेखि नेपालगन्जमा अलपत्र परेका छन् । (रेडियो नेपाल)

Translate »