कनकासुन्दरीका ६२ प्रतिशत नागरिक पालिकाबाट असन्तुष्ट

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७९/८० को वार्षिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले पालिकाको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए ।

पत्रकार महेश नेपालीले सेवा सर्वेक्षण सम्बन्धि ८ वटै वडाका विभिन्न बस्तीमा पुगेर तयार गरिएको नमुना नागरिक सर्वेक्षणको प्रतिवेदन पेश गर्नु भएको थियो ।

८ वडाका ५० जना सर्वसाधारण हरुमा गरिएको नागरिक सर्वेक्षण प्रतिवेदन अनुसार सेवा लिन जाँदा कर्मचारीको व्यवहार र पालिका प्रति ६२ प्रतिशत नागरिक असन्तुष्ट रहेको पाइएको छ । सबैभन्दा धेरै पालिकादेखि वडामा राखिएको नागरिक वडापत्रबारे कनकासुन्दरीका ८० प्रतिशत नागरिकले थाहा नपाएको बताएका छन् ।

भने, गाउँपालिका र वडा पालिकाबाट कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा ८० प्रतिशत नागरिकले ठिकै रहेको बताउँदा १४ प्रतिशत नागरिक असन्तुष्ट छन् । साथै एकै कामका लागि ४० प्रतिशत नागरिकले दुई पटक भन्दा बढी समय कार्यालय धाउनु पर्ने बाध्यता रहेको बताएका छन् ।

यो प्रतिवेदनले कनकासुन्दरी गाउँपालिकाका कर्मचारीले सेवा प्रवाह गर्दा आफ्नो स्वभावमा सुधार गर्नु पर्ने,नागरिकका आवश्यकतामा आधारित विकास गर्नु पर्ने पर्ने देखाएको छ । सार्वजनिक सुनुवाइमा पालिकाको समृद्धि,विकास,सेवा सुधारका लागि करिब २० जना बढिले प्रश्न जिज्ञासा सोधेका थिए । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत देखि विषयगत शाखा प्रमुखले जवाफ दिएका दिए ।

गाउँपालिका अध्यक्ष दामोदर आर्चायले समृद्ध कनकासुन्दरीका खाँका कोर्न लागिएको बताए । उनले भने, ‘पहिलो वर्ष सिक्दै बित्यो । पूर्वाधार विकास यहाँको आवश्यकता हो । गाउँ वडा,भूगोल,बस्ती जोड्न पक्की पुल निर्माणमा जोड दिइने छ । सेवा सुधारमा पनि हामी त्यतिकै जिम्मेवार भएर लाग्ने छौ ।’

गाउँपालिका उपाध्यक्ष प्रेम कली बुढाले आन्तरिक आय वृद्धिमा वडादेखि गाउँपालिका जुट्नु पर्ने बताए । सीमित स्रोत र असीमित आवश्यकताले चुनौती थपिएको छ । कुनै पूर्वाग्रह नराखी माग र आवश्यकता आधार विकास गरिनेमा जोड दिए ।

कार्यक्रममा सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, युवा, महिला, दलितको सहभागिता थियो । भने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सिंजा मल्टी मिडिया प्रालीले गरेको हो । (रेडियो नेपाल)

Translate »