युवा समाज रुपान्तरणका सम्वाहक हुन् : कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा प्रथम कर्णाली प्रदेश स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी शुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा समाजका सम्वाहक जुनियर युवाको क्षमता विकास, नेतृत्व विकास तथा समाजिक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले प्रदेशका दश जिल्लाका एक सय बढी जुनियर युवाहरुको सहभागितामा शुरु भएको दुई दिने गोष्ठीको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सबैको रगत रातो नै हुने भएकाले अहिलेका युवा एकताबद्ध भएर समाजको सुख, शान्ति र समृद्धिका लागि काम गर्न आवश्यक रहेको औल्याए ।

उनले सकारात्मक सोचका साथ गतल चिन्तन र व्यवहारलाई निस्तेज गर्दै जुनियर युवाले रचनात्मक कार्य मार्फत समाज रुपान्तरणको मुख्य हिस्सेदार बन्नु पर्नेमा जोड दिए ।

नेपाली समाजको पुस्ता हस्तान्तरणमा जेनेरेशन ग्याप रहेकाले पुरानै परम्परामा अल्झिनु भन्दा समय सापेक्ष विकसित मूल्य मान्यतामा अघि बढ्न उपयुक्त हुने उनको सुझाव थियो ।

उद्घाटन कार्यक्रममा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमाल, वीरेन्द्रनगर नगरपालिका–९ नम्वर वडाध्यक्ष ऋषि गिरी, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिका कोषाध्यक्ष वीरबहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदीलगायतले समाज तथा राष्ट्र निर्माणमा जुनियर युवा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

Translate »