केपी ओली कप टि २० : एपिएफ ८४ रनले विजयी


कास्की । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लब ८४ रनले विजयी भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिँदै ५ विकेट हात पारे ।
लुम्बिनीका निर्मल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अविनाश बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो ।

गण्डकीसँग एक खेल गुमाएको एपिएफलाई सेमिफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नुपर्ने दबाबमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पूरण विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।
मूह ‘बि’मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अङ्क छ । सेमिफाइनलको टुङ्गो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

