दैलेखमा श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान्को मृत्यु

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भाँडा (भड्डु ) प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४, कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्दा उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको जनाए ।
लम्सालले भने, ‘भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो ।’ सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।