सुर्खेतको चिङ्गगाडमा ठाँटी मेला सुरु


सुर्खेत । सुर्खेतको चिङ्गगाडमा मंसिर पूर्णिमाको दिनदेखि पाँच दिनसम्म चल्ने ठाँटी मेला सुरु भएको छ । सुर्खेत, दैलेख र जाजरकोटको केन्द्रमा पर्ने मटेला बजारमा सुरु भएको ठाँटी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै खुल्ला भलिवल र लोक दोहोरी प्रतियोगीता सञ्चालन गरिएको छ ।


ठाँटी बजार व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष पूर्णिमाको दिनदेखि पाँच दिनसम्म मेला आयोजना हुने गरेको छ । चिङ्गगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले मटेला बजार तीन जिल्लाको प्रमुख व्यापारिक केन्द्र बन्दै गएकाले यस्ता मेला र महोत्सवले यहाँको व्यापार–व्यवसाय बृद्धिमा सघाउ पु¥याउने बताए ।
उनले सुर्खेतको मात्रै नभएर छिमेकी जिल्ला दैलेख र जाजरकोटबाट पनि हजारौं मानिसहरु मेलाको अवलोकन गर्न आउने भएकाले पनि मटेला प्रमुख ब्यापारिक केन्द्र बनेको जनाए । मेलामा स्थानीय लहरे खेल, पञ्चे बाजा, सिंगारु, गर्रा नाचलगायतका झाँकीहरु प्रस्तुत गरिएका छन् । ती मध्ये उत्कृष्ठ झाँकीहरुलाई गाउँपालिकाले पुरस्कृत गर्ने जनाएको छ ।


