साल्ट ट्रेडिङ्गको सल्यान डिपोमा म्याद नाघेको ८ सय बोरा मल बरामद

 

सितलपाटी । सल्यान स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा नेतृत्वको अनुगमन टोलीले म्याद गुज्रिएको ८०० बोरा (खेती शक्ति नामक) मल फेला पारेको हो ।

नेपाल सरकारले अनुदान नदिएको र प्रदेश सरकारले सिफारिस पनि नगरेको मल साल्ट ट्रेडिङ्गले आफुखुशी बिक्री वितरण गईरहेको पाईएको छ । ‘अनुगमनमा साल्ट ट्रेडिङ्गले आफुखुशी फरक कम्पनीको मल विक्री गरेकाले त्यसलाई स्वतः अवैध मानिन्छ,’ मन्त्री शर्माले भने, ‘म्याद गुज्रिएको मललाई तत्काल नष्ट गर्ने प्रक्रिया पुरा गरि व्यवस्थापन गर्न निर्देशन दिएका छौं ।’ उनले मलखाद किसान र सहकारीलाई लिन बाध्य पारिएको गुनासो आएपछि उक्त मल फिर्ता गर्न र अब वितरण नगर्न निर्देशन दिईएको जानकारी दिए ।

डिपोले मल छैन भन्दै कृषकलाई बिक्री वितरण नगरेको र बिग्रेको मल दिने गरेको गुनासो आएपछि मन्त्री शर्माले अनुगमन गर्दा सल्यान स्थित साल्ट ट्रेडिङ्ग डिपोमा डिएपी ४ हजार बोरा बढी र युरिया ३५ सय बोरा बढी मल रहेको भेटिएको छ ।

‘कृषक मलका लागि भौतारिए रहेको फाइदा उठाउँदै साल्ट ट्रेडिङ्गको डिपोले राम्रो मल लुकाएर बिग्रेको पुरानो सिमेन्ट जस्तै सट भएको नै बिक्री गर्ने गरेको रहेछ,’ उनले भने, ‘कृषकको गुनासोपछि गरिएको अनुगमनमा बिक्री वितरण भइसकेको मल समेत फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिएका छौं ।’

सिजनको समयमा कृषकको आवश्यकतालाई मध्यनजरमा राखेर सहकारीको माग भन्दा बढी परिणाममा प्रदेश सरकारले अनुदानमा मल पठाएकोमा कृषकले मल नपाएको गुनासो गरेपछि तत्काल अनुगमन गर्नु परेको मन्त्री शर्माको भनाइ छ ।

Translate »