मुगुको रारा ताल्चा विमानस्थल : २० वर्षदेखि काठको टहरोमै ‘टर्मिनल टावर’

सनत हमाल/मुगु । राराको एक मात्र विमानस्थलमा रहेको टर्मिनल टावरको भवन विगत २० वर्षदेखि काठको टहरोमै सीमित छ । २ कात्तिक २०६० देखि कच्ची धावनमार्गमार्फत काठको टहरोबाटै जहाज उडान र अवतरण सुरु गरिएको भएपनि अझै सुविधायुक्त ‘टर्मिनल भवन’ बन्न सकेको छैन । धावनमार्गको माथिल्लो भागमा सल्लाको काठको फलेकले वरिपरि बारेर एकतले काठको टहरो निर्माण गरिएको छ, जसभित्र उपकरण राखेर कर्मचारीले वर्षौंदेखि काम चलाइरहेका छन् ।

यो त्यही टावर हो, जहाँबाट नेपालगञ्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाज २० वर्षसम्म डाक्ने र उडाउने गरिसकेको छ । तर, विडम्बना, सामान्य हावा लाग्दासमेत उक्त भवन हल्लिने गर्छ । जोखिम मोलेर कर्मचारीहरू टहरोमै बसेर काम गर्न विवश छन् ।
विमानस्थलको टर्मिनल भवन र टावर २० वर्षदेखि काठको टहरोमा हुँदा यात्रुलाई असहज भईरहेको छ ।

वि.सं. २०५५ सालमा रारा नागरिक उड्डयन कार्यालय ताल्चा मुगुको स्थापना हुँदा बनाइएको जीर्ण टहारा मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । उक्त विमानस्थलमा २०६० साल बैशाख ३ गते पहिलोपटक उडान गरिएको थियो । त्यसयता रारा ताल्चा विमानस्थलमा हवाई उडान नियमित भइरहेको छ ।

तर, पक्की भौतिक संरचना भने बन्न सकेको छैन । अस्थाई संरचना काठको टर्मिनल भवन र टावर अहिलेपनि सञ्चालन भइरहेको छ । त्यसले गर्दा सुरक्षा चेकजाचमा समस्या हुने गरेको छ भने असहाय,वृद्धवृद्धा,बिरामी यात्रुहरुलाई समेत असर पुग्ने गरेको छ । सुरक्षित बस्ने ठाउँ नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

चर्को घामलाग्दा ओत लाग्ने ठाउँसमेत छैन । यस्तै खानेपानी र शौचलयको उपयुक्त व्यवस्था नहुँदा समस्या हुने गरेको यात्रुहरुले गुनासो गरेका छन् । रारा ताल्चा विमानस्थलको धावनमार्ग ५७० मिटर लम्बाई र २० मिटर चौडाई छ । विमानस्थलमा जीर्ण हवाई सेवा कम्पनीले दैनिक २ देखि ३ उडान भर्ने गरेका छन् सामान्य काठको टहरोमा टावरको सम्पूर्ण काम गर्दा असहज भयको रारा नागरिक उड्डयन कार्यालय ताल्चा मुगुका कार्यालय प्रमुख सन्तोष गौतमले बताए ।

टावरसहितको टर्मिनल भवन निर्माणका लागि कन्ट्रक्सन अफ टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावर रारा एयरपोर्टले तीन वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ओम बुद्ध इन्टरनेसनल कन्ट्रक्सन प्रालि काठमाडौंसँग सझौता गरेको थियो । २०७६ असोज १६ गतेदेखि २०७९ बैसाख ५ गतेसम्म काम सक्ने गरि ८ करोड ६९ लाख ९ हजार ९ सय ९४ रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौंता भएको हो ।

तर निर्माण कम्पनीले कोरोना, बाढीपहिरो लगायतका समस्या देखाउँदै समयमा काम पुरा नगर्दा अहिलेसम्म टावर र टर्मिनल भवन निर्माणको काम अलपत्र बनेको छ । टावर र टर्मिनल भवन निर्माणका लागि दोस्रोपटक पुनः २०८० चैत मसान्तसम्म म्याद थप भएकाले अब तोकिएकै समयमा काम सम्पन्न हुने निर्माणपक्षको दावी छ ।

Translate »