नेपालगञ्ज आईसीपी सञ्चालन जिम्मा टीआरएस एटलसलाई

नेपालगञ्ज । निर्माणको अन्तिम चरणमा रहेको नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालन तथा व्यवस्थापन गर्न निजी कम्पनी छनोट गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी सञ्चालनका लागि टीआरएस एटलस लोजिपार्क प्रालिलाई छनोट गरेको हो ।

समितिले आईसीपी सञ्चालनका लागि २०८० असार ११ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आईसीपी सञ्चालनको उक्त बोलपत्र आह्वानमा उक्त कम्पनीसहित भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि सहभागी भएका थिए । त्यसमध्ये संयुक्त लगानीको टीआरएस एटलस लोजिपार्क प्रालिसँग सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । सम्झौता अनुसार उसले ५ वर्ष आईसीपी सञ्चालन गर्नेछ ।


भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन आईसीपीमा भौतिक संरचना निर्माणको कार्य सम्पन्न भइसकेको उनले बताए । उनका अनुसार हाल पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ प्रणालीलगायतको काम भइरहेका छन् । २०७७ असोज २६ गते उक्त आईसीपी निर्माण शुरू भएको थियो । नेपालको अन्तरराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले निर्मित नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको पनि गजुरेलले बताए ।

समिति र कम्पनीबीच भएको करार सम्झौताअनुसार एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन उक्त कम्पनीले गर्नेछ । हालसम्म मुलुकमा आठओटा यस्ता पोर्ट रहेको र सबै प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट भएका निजीक्षेत्रका कम्पनीहरूमार्फत सञ्चालन भइरहेको उनको भनाइ छ । ‘यसबाट सेवाको स्तर वृद्धि भएको छ,’ उनले दाबी गरे, ‘राज्यको आम्दानी पनि बढेको छ भने अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि यस किसिमका पोर्टहरू निजीक्षेत्रमार्फत सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भएको पाइन्छ ।’

Translate »