इआइए स्वीकृतसँगै वेतन कर्णाली जलविद्युत् आयोजनाको रुकावट हट्यो

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको समृद्धिमा महत्त्वपूर्ण मानिएको वेतन कर्णाली जलविद्युत् आयोजनाको अब अघि बढ्ने भएको छ । लामो सयमदेखि सुस्ताएको काम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिपोर्ट) स्वीकृत भएसँगै निर्माणको काम अघि बढ्ने पक्का भएको हो ।
सुर्खेत र अछामको सिमानामा रहेको ४३९ मेगावाटको उक्त आंशिक जलाशय आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको हो । कम्पनीले पेश गरेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट करिब दुई साताअघि स्वीकृत गरेको आयोजना प्रमुख उपेन्द्र न्यौपानेले बताए ।
उनका अनुसार मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम १७ पुसमा इआइए रिपोर्ट स्वीकृत गरेको हो ।
‘मन्त्रालयले इआइए प्रतिवेदन स्वीकृत गरेसँगै आयोजना निर्माणको बाटो खुलेको छ,’ उनले भने, ‘विद्युत् विकास विभागले अनुमति दिएपछि, वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौता (पिपिए) गरेर संरचना निर्माणको काम सुरु गर्छौं,’ पिपिएका लागि काम भइरहेको छ ।
आयोजना निर्माणपूर्वका सबै काम पूरा गरेर डेढवर्षभित्र आयोजनाको संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको पनि न्यौपानेले बताए । अहिले पहुँचमार्ग निर्माणको काम भइरहेको छ । अछाममा १८ किलोमिटर र सुर्खेतमा १४ किलोमिटर सडक खन्ने काम सकिएको छ ।
उनले अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिका लागि दरखास्त आह्वान गरिसकेको पनि जानकारी दिए ।
आयोजनाको विवरण
प्रस्तावित आयोजना सुर्खेत र अछाममा निर्माण हुनेछ । यो आयोजना अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ र तुर्माखाँद गाउँपालिका वडा नम्बर ३, ४ र ५ का सार्थ सर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ६ र पञ्चपुरी नगरपालिका वडा नम्बर ७ को क्षेत्रभित्र रहने छ ।
आयोजनाको बार रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) प्रकारको हुनेछ । बाँधको उचाई जगदेखि १४० मिटर निर्माण हुनेछ । आयोजनाको १६.१६९ करोड घनमिटर क्षमताको करीब २१.९३ किलोमिटर लामो जलाशय निर्माण हुनेछ ।
जलाशयमा जम्मा भएको पानीलाई तीन वटा हेडरेस सुरुङमार्फत विद्युत्गृहमा पु¥याइन्छ । हेडरेस सुरुङको लम्बाई क्रमशः २०१७.२६, २०११.१५ र २०१७.३९ गरी ६०४५.८ मिटर हुनेछ ।
विद्युत्गृहबाट ४३०.२ मेगावाट र वातावरणीय वहावबाट थप ८.८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।आयोजनाका संरचनाहरू निर्माण र जलाशयका लागि ९३.११ हेक्टर निजी जग्गा र ५९८.८८ हेक्टर वन क्षेत्र गरी कुल ६९१.९९ हेक्टर जग्गा आवश्यक पर्नेछ ।
अनुमानित लागतः आयोजना सम्पन्न गर्न करिब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी रहने न्यौपानेले बताए । कूल स्वपुँजी लगानी सञ्चय कोषका सञ्चयकर्ताका लागि ४० प्रतिशत, कोषका लागि १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणका लागि १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीका लागि १० प्रतिशत सेयर स्वामित्व दिने तय भएको छ । कम्पनीले १३ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावितका लागि १० प्रतिशत र अतिविपन्न परिवारका लागि २ प्रतिशत सेयर स्वामित्व दिने तय भएको छ ।

ऊर्जा उत्पादनः आयोजना निर्माण पूरा भएपछि वार्षिक २२९९.०५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट सुख्खा समयको ‘पिक इनर्जी’ ४५८.५६ गिगावाट घण्टा र सुख्खायाममको ‘अफ पिक इनर्जी’ २३०.८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । वार्षिक रूपमा सुख्खा समयमा कूल ६८९.३८ गिगावाट घन्टा र वर्षायाममा १६०९.६७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । कम्पनीले विद्युत् बिक्रीबाट पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख र नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने अनुमान छ ।
आवश्यक जग्गाः आयोजना निर्माणका लागि ६९१.९१ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । यसका लागि सरकारी स्वामित्वमा रहेको ५९८.८८ हेक्टर र ९३.११ हेक्टर निजी जमिन आवश्यक पर्नेछ । निजी जग्गामध्ये ६९.२६ हेक्टर जग्गाधनी पुर्जावाल र २३.८५ हेक्टर जमिन जग्गाधनी पुर्जा नभएको रहनेछन् ।
प्रसारण लाइनः आयोजनाको निर्माण पूरा भएपछि उत्पादन भएको विद्युत् ५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिने छ । स्विचयार्डदेखि सबस्टेसनसम्म ४०० केभीको प्रसारण लाइन निर्माण हुनेछ ।
आवश्यक स्रोत र साधन तथा जनशक्ति : आयोजनाको निर्माण अवधि ठेक्का सुरु भएको मितिबाट करिब ५ वर्षसम्ममा विभिन्न किसिमका दक्षता भएका १३ हजार २२० व्यक्ति बराबरको जनशक्ति आवश्यक पर्ने देखिएको छ । आयोजना निर्माणका लागि ढुंगा/गिट्टी/बालुवा ४ लाख ५ हजार ७८० घनमिटर, सिमेन्ट १ लाख ६५ हजार ३१० मेट्रिक छन्, छड २७ हजार ५२ मेट्रिक टन, विस्फोटक पदार्थ ३२६० मेट्रिक टन, डेटोनेटर ३२ लाख ६२ हजार वटा आवश्यक पर्ने अध्ययनले देखाएको छ । (उर्जा खबर )
कम्पनीको प्रबन्ध निर्देशकमा आचार्य नियुक्त
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् ।
करिब एक वर्षदेखि रिक्त रहेको उक्त पद आचार्यले शुक्रबारदेखि सम्हालेका छन् । ४ गते बसेको कम्पनीको साधारणसभाले उनलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो ।
गत पुस ४ गते तत्कालीन प्रबन्ध निर्देशक दीपक रौनियारको कार्यकाल सकिएपछि सो पद रिक्त भएको थियो । उनै रौनियारलाई पुस तेस्रो साता पुन: प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय कर्मचारी संचयकोषले गर्यो। तर उनी बेतन कर्णाली फर्किन चाहेनन् । उल्टो सञ्चय कोषको जागिरबाटै राजीनामा दिएर हिडे । निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी आयोजना प्रमुख उपेन्द्र न्यौपानेले सम्हाल्दै आएका थिए ।
आचार्य सञ्चयकोषको प्रशासक हुँदा यो कम्पनी जन्मेको थियो । उनी यो कम्पनीमा सञ्चालक थिए । उनी सञ्चयकोषबाट करिब ६ वर्ष पहिले रिटार्यड भएका थिए। उनलाई ४ वर्षका लागि प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको छ ।
यो कम्पनीले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण अघि बढाउन लागेको छ । जसको अध्ययनको काम लगभग सकिएर अहिले पूर्व तयारीको काम भइरहेको छ । (विजमाण्डु )