नेपाल–भारत व्यापार घाटा कम गर्न उत्पादन तथा उत्पादकत्वमा जोड

सुर्खेत । नेपाल–भारत व्यापार घाटा कम गर्न निर्यातजन्य उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्ने अर्थ विज्ञहरुले बताएका छन् ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक पत्रकारहरुका लागि आयोजना गरेको कार्यशालाका सहभागि अर्थ विज्ञहरुले आयात निर्यातमा भएको असन्तुलनका कारण व्यापार घाटा बढ्दै जाँदा नेपालमा थुप्रैखाले सामाजिक तथा आर्थिक समस्याहरु देखा पर्न थालेको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले व्यापार घाटा कम गर्न उच्च मूल्य वस्तुको गुणस्तरिय उत्पादन तथा उत्पादकत्व वृद्धि नभएसम्म आयात निर्यातमा सन्तुलन कायम नहुने जनाए । उनले आयात प्रतिस्थापन गर्न गुणस्तरीय वस्तु उत्पादन गर्दै निर्यातमा देखिएका भन्सार तथा पारवहन जस्ता समस्याहरुको सरकारी स्तरबाट सहजीकरणसँगै दुई देश वीच छलफल तथा समन्वय हुन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टका अध्यक्ष पोषराज पाण्डेले आयात व्यापारलाई प्रतिस्थापन गर्न सक्ने गरि वस्तु तथा सेवा निर्यात गर्न नसक्दा दुई मुलुकबीच व्यापार घाटाको अन्तर ठूलो रहेको बताए । आन्तरिक गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धिसँगै नेपाल–भारत वीच भएका व्यापारिक सन्धि सम्झौताहरुको पुर्नमूल्यांकन गर्नुपर्ने बेला आएको जनाए ।
त्यस्तै साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टका अर्का अर्थ विज्ञ निलु थापाले भारतसँगको व्यापारिक सम्बन्धमा मात्र आश्रित नभई अब बंगलादेश जस्ता सबल सम्भावना बोकेका देशहरुसँग व्यापारका नयाँ आयामहरु खोल्न आवश्यक रहेको औल्याईन् ।
बंगलादेशसँग नेपालको पुरानो मित्रवत सम्बन्ध रहेको बताउँदै उनले देशको आर्थिक पक्षलाई सवल बनाउन सरकारले नीतिगतरुपमै व्यापारका नयाँ सम्बन्धहरु स्थापित गर्न सुझाव दिईन् ।