

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनबद्ध तरिकाले अघि बढेको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा विहीबारदेखि नै जारी दशौं राष्ट्रिय खेलकुद अन्तर्गतको जिम्न्यास्टिक प्रतियोगिताको शुक्रबार विधिवत् उद्घाटन गर्दै खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध तरिकाले अघि बढी सकेको बताएका हुन् ।

उनले खेल क्षेत्रको समग्र विकास नगरी अन्य क्षेत्रको विकास अधुरो हुने जनाए । ‘खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता र व्यावसायिक खेलको विस्तार मार्फत खेल क्षेत्रको विकासका लागि योजनाबद्ध कदमहरु अघि बढाईनेछ,’ उनले भने, ‘प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरु मार्फत खेल क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखि सकेको छ ।’
उनले दशौं राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न र प्रदेश स्तरमा खेल पूर्वाधार विकास गर्न मद्दत समेत पुगेको बताए । ‘कुनै एक जना पटक जित्नु होला, अर्को नपाउन सक्नु होला, तर हार मान्नु हुँदैन्, किनभने असफलता नै सफलताको जननी हो,’ उनले भने, ‘ तपाईहरु दशौं राष्ट्रिय प्रतियोगितामा मात्र सीमित नभई निरन्तर अभ्यास मार्फत आफ्नो प्रतिभालाई निखारेर अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन आग्रह गर्दछु ।’


उनले प्रतियोगिता अवधिभर देशभरबाट आउनु हुने पाहुनहरुको कर्णाली बसाई सुःखद र उपलब्धीमुलक हुनेमा अपेक्षा गरेको जनाए । उद्घाटन कार्यक्रम नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष धु्रवबहादुर प्रधानले कर्णालीमा जिम्न्यास्टिक खेलको पर्याप्त सम्भावना रहेको प्रदेश सरकारलाई लगानी बढाउनु सुझाव दिए ।
त्यस्तै नेपाल जिम्न्यास्टिक संघका उपाध्यक्ष तथा प्रतियोगिताका केन्द्रीय प्रतिनिधि राजकुमार कार्कीले कर्णाली प्रदेश सरकारको आथित्यतता अत्यन्तै हार्दिकता रहेजस्तै जिम्न्यास्टिक खेलको विकासमा समेत हार्दिक देखाउन आग्रह गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य पवन शाहीको समेत उपस्थिति रहेको थियो ।












