

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको पुरुष क्रिकेटतर्फको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ ।
कालुन्चोक क्रिकेट मैदानमा भएको दोश्रो खेलमा टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध विभागीय टोली आर्मीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १७७ बनायो । जवाफी ब्याटिङमा उत्रिएको गण्डकी भने १७ ओभरमा अलआउट हुँदा ११० रनमा सीमित भयो ।
राष्ट्रिय टोलीबाट समेत खेलीसकेका आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लको समान ३६—३६ रनको योगदानमा १७८ रनको लक्ष्य खडा ग¥यो । मल्लले २ छक्का र ४ चौका प्रहार गर्दै ३६ रन जोड्दा भण्डारीले एक छक्का र तीन चौकाको मद्दतमा ३६ बलमा ३६ रन बटुले ।

आर्मीका वशिर अहमदले २७ र त्रितराज दास ११ बलमा २४ रन जोडेपनि राष्ट्रिय टीमका अर्को सदस्य भीम सार्की दुई बल खेल्दै खातै नखोली डगआउट भए । बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर तीन विकेट हात पार्दा कृष्ण पौडेल र सुदिप अर्यालको खातामा समान दुई–दुई विकेट रह्यो ।
गण्डकीले २१ रन अतिरिक्त खर्चिएको थियो । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित २६ रन जोडेर टीमका लागि सर्वाधिक रन बटुले भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे ।
आर्मीका लागि ‘म्यान अफ दि म्याच’ तिलकराज भण्डारीले ३ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर ४ विकेट हात पारे । यस्तै नरेश साउँदले २ र कुशल मल्लले १ विकेट लिए । पहिलो जीतसंगै कर्णाली र आर्मीले समान दुई–दुई अंक जोडेका छन् ।












