खाद्य स्वच्छताको आधारमा सुर्खेतका होटेल तथा रेष्टुरेन्टको स्तरीकरण शुरु

सुर्खेत । खाद्य स्वच्छताका आधारमा सुर्खेतका होटेल तथा रेष्टुरेन्टको स्तरीकरण गर्ने कार्य शुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरी मंगलबारदेखि वर्गीकरण गर्ने कार्य शुरु गरेको हो ।
खाद्य स्वच्छतास्तर अति उत्तम भएका होटेलमा ‘क’ वर्गको तीनतारे हरियो ‘स्टिकर’ टाँसिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । उत्तम भएकामा ‘ख’ वर्गको दुईतारे हरियो स्टिकर, सन्तोषजनक भएकालाई ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गकालाई पहेंलो ‘स्टिकर’ टाँस्ने गरिएको खाद्य अनुसन्धान अधिकृत पदम बरालले जानकारी दिए ।
खाद्य स्वच्छताको जाँच गरी स्टिकर टाँस्नुका साथै खाद्य स्वच्छतास्तरको प्रमाणपत्रसमेत प्रदान गर्ने गरिएको उनले बताए । स्तरीकरण मूल्यांकनपछि लोगो टाँस गर्नुको साथै प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । स्तरीकरण लोगो तथा प्रमाणपत्रको समयावधि १ वर्षको हुन्छ ।
प्रत्येक होटल, रेष्टुरेण्ट व्यवसायीले आफूले प्राप्त गरेको प्रमाणपत्र नवीकरणको लागि म्याद समाप्त भएको ३ महिनाभित्र सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।
साथै होटल सञ्चालकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छु्ट्टाछुट्टै राख्न, स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्ने लगयतका १२ बुँदे लिखित प्रतिबद्धता जनाउन लगाइन्छ ।
३४ होटेलको स्तरीकरण
खाद्य स्वच्छताका आधारमा पहिलो चरणमा सुर्खेतका ३४ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरी वर्गीकरण गरिएको कार्यालयले बताएको छ । वर्गीकरण गरिएका मध्ये २ वटा होटललाई मात्र ‘क’ वर्गको तीनतारे हरियो ‘स्टिकर’ टाँस गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।
उनले वीरेन्द्रनगर स्थित शुभ होटल प्रालि र सिद्धार्थ शनि रिसोर्टलाई ‘क’ वर्गको तीनतारे होटलका रुपमा वर्गीकरण गरिएको बताए । उनका अनुसार वर्गीकरण गरिएका मध्ये ४ वटा उत्तम भएकामा ‘ख’ वर्गको दुईतारे होटल तथा रेष्टुरेन्टलाई हरियो स्टिकर प्रदान गरिएको छ । दुईतारा पाउने होटल तथा रेष्टुरेन्टको वर्गीकरण भित्र वीरेन्द्रनगरका कौशिक गार्डेन रेष्टुरेन्ट, होटल नमस्ते, होटल भ्याली भ्यू र सेफ च्वाईस रेष्टुरेन्ट एण्ड पिजा हर्ट रहेका पर्न सफल भएका छन् ।

कार्यालयले गरेको स्तरीकरण भित्र दश वटा होटल तथा रेष्टुरेन्ट सन्तोषजनक भएकालाई ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ प्रदान गरिएको छ भने आठ वटा होटल तथा रेष्टुरेन्ट सामान्य ‘घ’ वर्गकालाई पहेंलो ‘स्टिकर’ टाँस गरिएको जानकारी दिएको छ । वीरेन्द्रनगरकै नाम चलेका दश वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरण मूल्यांकन भित्र पर्न नसकेको समेत कार्यालयले बताएको छ ।
होटेलमा पाइने खानालगायत खाद्य पदार्थको गुणस्तर र शुद्धता कायम गर्न स्तरीकरण अभियान सुरु गरिएको हो । खानेकुराको सूचकका आधारमा स्तर निर्धारण गर्ने खाद्य स्वच्छता भित्र भान्साको संरचना र सरसफाइ, भण्डारण, भाँडाकुँडा, कामदारको व्यक्तिगत सरसफाइलगायतलाई मापदण्डको आधार मानिएको हुन्छ ।
‘कतिपय नाम चलेका ठूला होटेलमा पनि खाद्य स्वच्छताको स्तर सामान्य पाइएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले भनिन्, ‘खाद्य स्वच्छताका आधारमा स्तर निर्धारण गर्दा खाद्य स्वच्छतामा सुधार आउने अपेक्षा गरेका छौं ।’
उनले खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी, वीरेन्द्रनगर नगरपालिका, होटल व्यवसायीको प्रतिनिधि, एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहने गरेको छ ।
शुभ होटललाई तीनतारा
सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटल प्रालिलाई ‘क’ वर्गको तीनतारे होटलमा वर्गीकरण गरिएको छ । खाद्य स्वच्छताका आधारमा शुभ होटललाई मंगलबार ‘क’ वर्गको तीनतारे होटलका रुपमा वर्गीकरण गरिएको हो ।
शुभ होटलले लगातार तेस्रो पटक खाद्य स्वच्छताका आधारमा अतिउत्तम वर्गमा प्रमाणिकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत मातहतको खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन समितिले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर विसीको उपस्थितिमा होटल भान्साको स्थलगत अनुगमन गरी अतिउत्तमको प्रमाणपत्र प्रदान गरिएको हो ।
मन्त्री विसीले खाद्य स्वच्छतालाई उच्च प्राथमिकता दिएर उपभोक्तालाई थप गुणस्तरीय सेवा दिन शुभ होटललाई सुझाव दिए । शुभ होटेलका प्रबन्धक दमन शाहले खाद्य स्वच्छता कायम गरेर नै सेवाग्राहीलाई अधिकतम् सेवा प्रवाहमा प्रतिवद्ध रहेको जनाए ।