२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन



जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।

आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरबाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए।

जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : २०८० माघ १० गते बुधबार
Translate »