चिङ्गगाड अस्पताल छिटो बनाऊँ !

सरकारले सुर्खेतका सबै स्थानीय तहमा दुई वर्षभित्रै अस्पताल स्थापना गर्ने योजना अघि सारेको थियो । अस्पतालको दीर्घकालीन सञ्चालनको कुनै योजनाबिनै हतारमा जुन निर्णय गरी योजना कार्यान्वयन थालियो त्यसैको परिणाम स्वरुप अहिले अस्पताल निर्माण कार्यले गति लिन सकेका छैनन् । अस्पताल भवनको शिलान्यास गर्न मन्त्री, सांसददेखि स्थानीय तहका प्रमुखसम्मको तँछाडमछाड चल्यो । तर, पर्याप्त तयारीविना घोषणा गरिएको यो योजना अहिले अलपत्र छ । धेरै ठाउँमा तामझामका साथ शिलान्यास गर्दा खनिएका खाल्डा फोहोरले भरिएका छन्, कतिपय ठाउँमा शिलान्यास कहाँनिर भएको थियो भन्ने पनि थाहा पाउन गाह्रो छ । अस्पताल नभएका सबै स्थानीय तहमा अस्पताल बनाउनु राम्रो पक्ष थियो । अस्थिर राजनीतिले गर्दा सरकार परिवर्तनसँगै विकास निर्माणका कामहरु समयमा पुरा नहुँदा आम नागरिकले सहजता भन्दा सास्ती बढी पाईरहेका छन् । कुनै पनि काम सुरु गर्नुमात्रै ठूलो होइन । त्यसको निरन्तरता र पूरा गर्नुचाहिँ महत्वपूर्ण हो । अनि, कुनै पनि योजना आफैंमा उत्कृष्ट हुँदैन, उत्कृष्ट हुन त त्यसको कार्यान्वयन हुनुपर्छ । चिङ्गगाड गाउँपालिकामा निर्माण गर्न लागिएको १५ शैयाको अस्पताल योजना अलपत्र छ ।

गाउँपालिकाले स्वीकृति नलिएरै सरकारी जग्गामा आफूखुसी अस्पताल भवन बनाउन लागेको उजुरी परेपछि तीन वर्षदेखि निर्माण कार्य अलपत्र परेको हो । आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित नहुन भन्ने उद्देश्यले संघीय सरकारले २०७७ मङ्सिर १५ गते दुई वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको थियो । सरकारले पहिलो चरणमा पठाएको १ करोड रुपैयाँले चिङ्गगाडको पोखरा डाँडामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरियो । गाउँपालिका कार्यालयले उक्त एक करोड मध्ये १५ लाखमा डीपीआर र ८५ लाखमा २०७८ असार २५ गते अस्पताल भवन निर्माणका लागि बाँकेको गाल्वा/ओली जेबीसँग सम्झौता ग¥यो । भवन निर्माण कार्य शुरु भएको ६ महिना नपुग्दै संघ सरकारले नै पहिले जग्गा अस्पतालको नाममा लिएर मात्र भवन निर्माण कार्य अघि बढाउन भनेपछि काम रोकियो । जनप्रतिनिधिले नै अस्पतालका लागि जग्गा लिने प्रक्रियामा ध्यान नदिँदा निर्माणमा ढिलाइ भएको थियो । तर, अहिले अस्पताल भवनको जग्गा अस्पतालकै नाममा लिएपनि काम अघि बढ्न सकेको छैन् । सुर्खेतका नौ मध्ये ४ स्थानीय तहमा अस्पताल छन् भने बाँकी स्थानमा शिलान्यास गरिएको भएपनि निर्माण अलपत्र अवस्थामा छन् । शिलान्यास गरिएको झण्डै तीन वर्ष पुरा हुन लाग्दा समेत निर्माण सम्पन्न भएका अस्पताल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

अस्पताल नहुँदा अहिले चिङ्गगाडका अधिकांश नागरिकलाई सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सुर्खेतदेखि नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊसम्म पुग्नु पर्ने बाध्यता छ । गाउँमा आधारभूत अस्पताल बन्ने खबरले स्थानीय खुशी भएपनि तोकिएको समयमा नबन्दा सर्वसाधारणलाई सास्ती उठाउनु परिरहेको छ । अस्पताल बनेमा सुर्खेतको पूर्वी उत्तरी क्षेत्रका नागरिकसँगै छिमेकी दैलेख र जाजरकोटका जनतालाई समेत स्वास्थ्य उपचारमा सहज हुन्छ । त्यसैले भौगोलिकरुपमा विकट मानिँदै आएको चिङ्गगाडलाई सबै राजनीति दलहरुले अब विकास निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुपर्ने आवश्यता टट्कारो देखिन्छ । नागरिकको चाहना र आवश्यकतालाई ध्यान राखेर छिटो अस्पताल निर्माणमा जुट्न सहयोग तथा समन्वयको खाँचो छ । विकास भन्ने कुरा कुनै एक व्यक्ति, समूह र गाउँको मात्र भएर पुग्दैन् । पुरा देशभरीका गाउँको विकासका बारेमा सोच्नुपर्ने बेला आएको छ । आग्रह तथा पूर्वाग्रह माथि उठेर चिङ्गगाडमा छिटो भन्दा छिटो अस्पताल निर्माण गर्ने तर्फ संघ सरकारले नै फास्ट ट्¥याक कदम चाल्न जरुरी देखिन्छ ।

 

Translate »