सुर्खेतमा पहिलो पटक ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुँदै

सुर्खेत । कर्णालीमा डिजिटल साक्षरता बढाउन सुर्खेतमा पहिलो पटक ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुने भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा यहीं फागुन १८ र १९ गते प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना गर्न लागिएको हो ।

आयोजकले बधुबार पत्रकार सम्मेलन नै गरेर पहिलो पटक कर्णालीमा आयोजना गर्न लागिएको दुई दिने ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ को सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले प्रविधिलाई विकाससँग जोड्दै स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनको विस्तार तथा प्रवर्द्धन गर्न कन्क्लेभ आयोजना गर्न लागिएको बताए ।

उनले डिजिटल कर्णालीका लागि नयाँ आइडिया र भइरहेका प्रयासहरुको बारेमा जान्न, बुझ्न मात्र नभई डिजिटल रुपान्तरणको बाटोमा प्रदेशलाई डो¥याउन कन्क्लेभले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आधुनिक कर्णालीको डिजिटल रोडम्याप तयार गर्न समेत कन्क्लेभ महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा आईसीटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले प्रविधि सम्मेलनमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागितामा कर्णालीको डिजिटलाइजेसन र दिगो विकासका बारेमा छलफल, अन्तर सम्वाद तथा बहस केन्द्रित हने जानकारी दिए ।

‘कन्क्लेभमा चार ओटा महत्वपूर्ण किनोट प्रस्तुति र छ ओटा प्यानल छलफलहरु रहने छन् । नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरुको पावर संवाद सेसन पनि त्यसमा समावेश रहेको छ,’ उनले भने, ‘कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास, क्षमता र डिजिटल रुपान्तरणको प्रतिबद्धता जस्ता विषयहरु केन्द्रित हुनेछन ।’

उनले कर्णाली प्रदेशका डिजिटल सेवा, स्टार्टअप र नयाँ प्रयासमा काम गरिरहेका संस्थालाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको बताए । संघीय सरकार, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुको उपस्थितिमा हालसम्म कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा प्रविधिको प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासहरुलाई समेत कन्क्लेभमा देखाइने उनको भनाइ छ ।

Translate »