होलीले मेरो रङ्गायो नयाँ चोली…..

काठमाडौं । ‘होलीले मेरो रङ्गायो नयाँ चोली…’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।
बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ । यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न आएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोजिन् । उनले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै थिइन्। “सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन”, कोइरालाले भनिन्, “टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ ।”
कपडा बजार होलीका पहिरनले भरिभराउँछ । युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताए । प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ । कक्षा ११ मा पढ्दै गरेकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली । हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गीन, रङ दल्न र नाचगान गर्न निकै रूचाउँछिन् । अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताइन् । उनले भनिन्, “रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ ।”

संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताए । “जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ । यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहि छैन”, उनले भने। नयाँ नै खोज्नु भनेको पूँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ । बाल्यकालको सम्झना गर्दै उनले भनिन्, “हामी सानो छँदा नयाँ लुगामा रङ्ग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउथ्यौँ ।” अहिले समाज चाहिनेभन्दा बढी देखासिखीमा रमोलिएको उनको भनाइ छ ।
सेतो रङको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नैपर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताए । पछिल्लो समय चलचित्रहरुले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उनको धारणा छ । होली पर्व अर्को अर्थमा रङहरुको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताए । “होली पर्वले रङमा समानता महसुस गराउँछ”, उनले भने । होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् ।
रङ लगाउँदा भागादौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ । रासस