वैशाख पहिलो साताबाट एकीकृत भन्सार जाँच चौकी (आईसिपी) सञ्चालन गर्ने तयारी

बाँके । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ २०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उ‌द्घाटन गरेको आई सिपी करिब एक वर्षपछि सञ्चालनमा आउन लागेको छ ।

नेपाली र भारतीय सरोकारवाला पक्षले नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आई सिपी) अबको एक हप्ताभित्र पूर्णतया सञ्चालन गर्ने सहमति गरेका छन् । केही दिन अघि आई सिपी स्थलमै बसेको दुवै देशका अधिकारीहरूको बैठकले यस्तो सहमति गर्दै बाँकी रहेको काम तीव्र रूपमा गर्ने रणनीति बनाएको हो ।

नेपाल र भारतका सरोकारवाला निकायका अधिकारीहरूले आइसिपीस्थलमै  चाँडो भन्दा चाँडो कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा बाँकी रहेको सफ्टवेयर जडान सम्बन्धी काम पनि तत्काल सकेर पहिला हस्तान्तरण र त्यसपछि औपचारिक रूपमा सञ्चालन गर्ने निष्कर्षमा  दुवै देशका अधिकारीहरू पुगेका हुन् । भारतीय लगानीमा नेपाल र भारत दुबैतर्फ निर्माण भइरहेको आई सिपी भारतीय ठेकेदार कम्पनीले भारतीय सरोकारवाला निकायलाई हस्तान्तरण गर्नेछ ।

हस्तान्तरणका  प्रक्रिया पूरा गरेपछि नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालतर्फको आई सिपी सञ्चालनको जिम्मा पाएको  समितिका इन्जिनियर जीवन ढकालका अनुसार आई सिपी सञ्चालनको अन्तिम तयारीका लागि सबै कार्यालयले तीव्र तयारी गरिरहेका छन् ।  अब मात्रै सफ्टवेयर सम्बन्धी काम बाँकी छ । जो तत्काल सकेर आई सिपी सञ्चालन हुनेछ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भविन्द्र सुनारले पनि अब अन्तिम तयारीका साथ त्यहाँ जानुपर्ने कार्यालयहरू सर्ने तयारीमा रहेको जानकारी दिए ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि दुई देशले आ -आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आई सिपी छिट्टै नियमित सञ्चालन गर्ने बताएका थिए ।

आई सिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुसीयाली मनाए। तर, उद्घाटन भएको नौ महिना बित्दासमेत सञ्चालन अनिश्चित भएको थियो, तर अब भने सञ्चालन हुने लगभग निश्चित भएको छ ।

आई सिपी नेपालगन्ज र भारतको रूपैडिहामा अवस्थित छ। नेपालतिर ८७ बिघामा फैलिएको आई सिपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैङ्क, भन्सार एजेन्ट, नापतौल तथा गुणस्तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ २०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको आई सिपी अझै सञ्चालनमा आउन नसक्दा आलोचना भइरहेको थियो ।

Translate »