सार्वजनिक जग्गाको संरक्षण गरौं


सार्वजनिक जग्गामा अतिक्रमण नेपालका लागि नौलो विषय होइन । देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा अतिक्रमण भएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सम्पूर्ण नागरिकहरुको दायित्व हो । सार्वजनिक सम्पत्ति नागरिकहरुको सरोकार र चासोको विषय बन्न नसक्दा देशभरि नै सार्वजनिक सम्पत्ति असुरक्षित हुने गरेका छन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पनि सार्वजनिक जग्गा अतिक्रमणमा परेका स्थानहरु धेरै छन् । सुर्खेतमा धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रसँगै बजार क्षेत्रमै सुकुम्वासीका नाममा जग्गा अतिक्रमणदेखि सरकारी जग्गा उद्देश्य विपरित भोगचलन गर्नेहरु यत्रतत्र देखिन्छ । त्यति मात्र होइन, अन्यत्र घरजग्गा भएकाहरुले नै सुकुम्वासीका नाममा सरकारी जग्गा हड्प्नेहरु यहाँ धेरै छन् । प्रदेश राजधानी सुर्खेत भएसँगै जग्गा माफियादेखि दवङ्गहरुले सार्वजनिक जग्गाको अस्तित्व सङ्कटमा पार्ने काम गरेपनि राजनीति आवरणमा नियमनकारी निकाय कमजोर परेको देखिन्छ । यसरी सार्वजनिक क्षेत्रमा अतिक्रमण बढ्नु चिन्ताको विषय हो । सुर्खेत उपत्यका नगरविकास समिति मार्फत भाडामा लगाईएका क्षेत्रहरु वीरेन्द्रनगर नगरपालिकाले खाली गरेपनि अझै केहीले छोडेका छैनन् । कतिपय उद्देश्य विपरित सरकारी जगगा भोगचलन गर्दै आईरहेका बजार क्षेत्रमा जग्गा खाली गराउने तर्फ सम्बन्धित पक्षको ध्यान पुग्न जरुरी छ । सार्वजनिक जग्गा संरक्षण तथा सम्वद्र्धन गर्ने जिम्मा अमुक निकायको मात्र नभई आम नागरिकको पनि दायित्व रहेकाले कुनैपनि आग्रह–पूर्वाग्रहदेखि माथि उठ्न जरुरी हुन्छ ।

सार्वजनिक सम्पत्तिको संरक्षणमा न सरकार र सरकारी निकायहरु गम्भीर छन्, न त नागरिकहरु नै गम्भीर छन् । सरकारी निकायका कर्मचारीहरुले नै सर्वसाधारणसँग मिलेर सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने गरेका विषय बेला–बेलामा प्रकाशमा आइरहन्छन् । सरकारी जग्गाहरु नै व्यक्तिका नाममा गएका घटनाहरु हाम्रो देशमा अनेक छन् । यस्तो प्रवृत्तिले ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रहरु सङ्कटमा पर्ने गरेका छन् । त्यसैले यो हामी सबैको सरोकारको विषय बन्नुपर्छ । कतिपय क्षेत्रहरु देशकै गौरव र पहिचानसँग जोडिएका हुन्छन् । यस्ता क्षेत्रको जगेर्ना गर्नु सबैको कर्तव्य हो । देउती बज्यै क्षेत्र पनि यस्तै धार्मिक महत्वको क्षेत्र हो । त्यहाँ आसपासका क्षेत्रको सरकारी जग्गा अतिक्रमणमा परेको छ । देउती बज्यै आसपासको क्षेत्रमा रहेका खोला नाला कब्जा गरी परम्परागत सांस्कृतिक रुपमा रहेको क्षेत्रलाई हडप्पनु कहाँसम्मको दवंगता हो ? यो सोचनिय विषय छ । जग्गा माफिया र दबंगता अन्त्य नगरेसम्म धमिरो लागेझै सार्वजनिक सम्पत्ती माथि भईरहने यस्ता कलंकित कार्य रोकथाम नियन्त्रण जरुरी देखिन्छ । देउती बज्यै क्षेत्रमा पूजापाठ गर्नुका साथै परम्परागत चाडपर्व, मेलालगायतका उत्सव गर्ने ठाउँहरु अतिक्रमणको चपेटा परेको छ । स्थानीय प्रशासनले समेत तत्काल ध्यान दिन सकेको देखिदैन् । यस्तो क्षेत्र अतिक्रमणमा पर्नु चिन्ताको विषय हो ।
यसको संरक्षणमा स्थानीय प्रशासनसँगै सरोकारवाला सबैले पहल आवश्यक देखिन्छ । देउती बज्यै क्षेत्रसँग राजी समुदायको पहिचान पनि जोडिएको हुँदा यसको संरक्षण गरिनुपर्छ । सार्वजनिक क्षेत्र हप्पेर बसेकाहरुलाई हटाएर ऐतिहासिक क्षेत्रको जगेर्ना गर्नुपर्छ । यस कार्यमा स्थानीय सरकारले अग्रसरता लिनुपर्छ । स्थानीय सरकारको अग्रसरतामा सामाजिक सङ्घ–संस्थाहरुले समेत सहयोग गर्नु आवश्यक छ । सार्वजनिक जग्गा संरक्षण गर्नु हामी सबैको दायित्व हो । तर पछिल्लो समय मूल्यहिन राजनीति परिपार्टीले सरकारी जग्गा कब्जा गर्ने मात्र होइन, अनाअधिकृत तवरले दुरुपयोग गर्ने काम भईरहेका छन् । केही दिन पहिले सरकारी जग्गा खाली गर्नुपर्ने उर्दी जारी भएपछि संगठित रहेका व्यापारीहरुले आन्दोलित हुनुको कुनै तुक नभएपनि केहीले खाली गरेपनि अझै थुप्रै जग्गा कब्जा मुक्त गर्न जरुरी देखिन्छ । खाली भईसकेका क्षेत्रहरुमा नगरपालिकाले पार्किङ, बगैंचा लगायत सार्वजनिक संरचना बनाउने योजना तत्काल अघि बढाउनु पर्छ । कसैलाई हटाउने र कसैलाई राखिरहने प्रवृत्ति राम्रो देखिदैन् । कानून सबैले मान्नु पर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ । नगरको विकासमा निजी क्षेत्र बाधक बन्नु हुँदैन् । सरकारी, सार्वजनिक जग्गामध्ये सरकारी जग्गा नेपाल सरकारले चाहे अनुसार उपयोग गर्न सकिन्छ तर सार्वजनिक जग्गाको हकमा सार्वजनिक उपयोगका लागि बाहेक सरकारले अन्य प्रयोजनमा प्रयोग गर्न पाउँदैन । सार्वजनिक जग्गा र सरकारी जग्गाको महत्व समेत हामी सबैले बुझ्न जरुरी देखिन्छ ।

