रारा ताल जाने छोटो बाटो निर्माणमा तीव्रता

मुगु । रारा ताल जाने छोटो सडक विस्तार कार्यले अहिले तीव्रता पाएको छ । नेपालकै ठूलो र गहिरो ताल रारा जाने छोटो मार्गका रुपमा रहेको तलीतुम–लामाचौर सडक विस्तारको काममा नेपाल सरकारले नै चाँसो राखेपछि विस्तारको कामले तीव्रता पाएको हो ।

मुगु जिल्ला अवस्थित रारा ताल पर्यटन विकासको प्रबल सम्भावना देखिएपछि वैकल्पिक सडक मार्गका रुपमा विस्तार गर्न लागिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिका तलीतुमदेखि वडा नम्वर–३ लामाचौरसम्मको सडक विस्तार गर्ने काम शुरु गरिएको हो ।

गमगढीबाट रारा जान पैदल दुरीमा २ घण्टा लाग्ने र गाडीमा घुमाउरो बाटो जाँदा बढी समय लाग्ने भएकाले गमगढी लामाचौरको दुरी अत्यन्तै छोटो र छिटो रारा पुगिने भएकाले वैकल्पिक सडक विस्तारको काम अघि बढाउन लागिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले जानकारी दिए ।

नेपालकै गौरवकै रुपमा रहेको रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक विस्तार गर्ने कामले गति लिएको उनले बताए । सडक विस्तारको कामको जिम्मा विनम्र निर्माण सेवा सुर्खेतले लिएको छ ।

५५ लाख ४ हजार ७ सय ७५ रुपैयाँको लागतमा बन्न लागेको पर्यटकीय सडक मार्गको निर्माण अवधि २०८१ आषाढ मसान्तसम्म रहेको छ । यसअघि २०८० असोज २४ गते सडक डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनी वीच दुईपक्षिय ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौतापछि सडक विस्तारको कामले तीव्रता लिएको छ । झण्डै ३ किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडक मार्गमा १ दशमलव ५ किलोमिटर सम्म ४ मिटर चौडाइको ग्राभेल, झण्डै ४५० घनमिटरको ग्याबिन जाली र २ दशमलव ५ किलोमिटर सडक चौडा पार्ने काम हुने सडक डिभिजन कार्यालयले बताएको छ ।

रारा पर्यटकीय मार्ग विस्तारको काम तोकिएकै समयमा सम्पन्न भएमा गमगढीवासीसँगै कर्णाली करिडोरहुँदै गमगढी आउने पर्यटकलाई राराताल पुग्न निकै सहज हुनेछ ।

Translate »