२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

सुर्खेतमा म्याद नाघेका सीजी ग्रुपका बियर खुलेआम बिक्री : मुस्ताङ वियरले उपभोक्ताको ज्यानै जोखिममा



सुर्खेत । एक त बियर स्वास्थ्यका लागि लाभदायक छैन, त्यसमाथि म्याद नाघेको बियर अनायास खाइयो भने के होला ? मानव स्वास्थ्यका लागि कुनै पनि मदिराजन्य पेय पदार्थ कुनैपनि कोणबाट फाइदाजनक मानिँदैन । त्यसमा पनि म्याद गुज्रिएका यस्ता पेय पदार्थ सीधै मानिसको शरीरमा प्रतिकुल असर पु¥याउँछन् ।

केही समययता कर्णाली प्रदेशभरी म्याद गुज्रिएका पेय पदार्थ व्यापाक मात्रामा बिक्री वितरण भइरहेका छन् । अहिले विभिन्न अवसर पारेर रिसोर्ट, रेस्टुरेन्ट, स्टोरमा बियर खाँदै जाँदा कतिले थाहा नै पाउँदैनन् आफूले सेवन गरेको बियर त म्याद नाघेको रहेछ भनेर ।

तपाई रेस्टुरेन्ट वा रिसोर्टमा जाँदाखेरि बियर सिसीमा सर्भ नगरीकन गिलासमा सर्भ गर्नुको एउटा कारण ग्राहकलाई झुक्याएर म्याद नाघेको बियर खुवाउनु रहेको एक होटल सञ्चालिकाले बताईन् ।

नयाँ वर्षको शुरुयातसँगै कर्णालीमा गर्मीले वियरको माग बढेपछि विक्रेताले यसरी नै झुक्याएर म्याद नाघेको बियर खुवाउने गरेका छन् । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयले आक्कलझुक्कल यस्ता पेय पदार्थ बिक्री वितरण नगर्न सचेत गराउने गरेको छ । बेला–बेलामा कारबाही गरे पनि बिक्री हुन भने रोकिएको छैन ।

विहीबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित पिपिराचोक देउती बज्यै जाने बाटोमा समाजसेवी मदनकृष्ण सुवेदीले आफ्नो २७ औं वैवाहिक वर्षगाँठको खुशीमा दिएको पार्टीमा नेपालकै चर्चित चौधरी ग्रुप (सीजी) ले उत्पादन गरेको मुस्ताङ वियर म्याद नाघेको भेटिएको हो ।

पिपिरा चोक स्थित गायत्री कोल्ड सेन्टरबाट खरिद गरिएको मुस्ताङ वियर दुई वर्ष पहिले नै म्याद नाघेको भेटिएको छ । वैवाहिक वर्षगाँठ समारोहमा सहभागी एक जना सचेत उपभोक्ताले वियरको बोतल भित्र डल्लो परेको वस्तु देखेपछि पार्टी आयोजकलाई खबर गरेर अर्को वियर मगाउन लगाएपछि हल्लाखल्ला मच्चिएको थियो ।

म्याद नाघेका वियर पिपिराका पसलैपिचछे छ्यात–छयाती भेटिन थालेपछि राष्ट्रिय उपभोक्त मञ्चका प्रतिनिधिलाई गुनासो आएपछि स्थानीय प्रशासनलाई जानकारी गराईएको थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको निर्देशनपछि उद्योग उपभोक्ता हित निर्देशनालयको नेतृत्वमा गएको अनुगमन टोलीले सीजी ग्रुपका वियरसँगै दुई कार्टुन म्याद नाघेका कार्ल्सबर्ग बियर नष्ट गरेको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका खाद्य निरीक्षक पदम सुवेदीले म्याद नाघेका वियरसँगै अन्य पेय पदार्थमा गुनासो आएपछि अब अनुगमनलाई तीव्रता दिईने बताए । बजार अनुगमन गर्दा म्याद गएका बियर अहिले बजारमा जताततै उपलब्ध गराएको पाइएको छ ।

कर्णालीका सुर्खेतसँगै दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र मुगुका बजारमा म्याद नाघेका चौधरी ग्रुपका वियर छ्यात¥छयाती फेला परेका छन् । राजनीतिक आवरण ओढेको चौधरी ग्रपले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दा पनि सरकारी निकाय भने मौन भएर बसेको छ । अहिले सो कम्पनीबाट उत्पादित बियरमध्ये ३५ प्रतिशत बढी म्याद गुज्रिएका बियर बजारमा रहेका छन् ।

यता चौधरी ग्रपका कर्णाली हेर्ने सेल्सका डिपुटी म्यानेजर ज्ञानबहादुर राईले दुई वर्ष पहिले नै म्याद सकिएका वियर लुकाई छिपाई राखेर विक्री वितरण गर्नु भनेको कम्पनीलाई नियोजित तरिकाले बदनाम गर्ने बाहेक अरु हुनै नसक्ने बताए । उनले विगत एक वर्षदेखि मुतास्ङ ब्राण्डको वियर कम्पनीले कर्णालीमा विक्री वितरण बन्द गरेपनि पुरानो स्टक माल फिर्ता गर्नुको सट्टा उपभोक्तालाई विक्री वितरण गर्नु गैरजिम्मेवार काम भएको जनाए ।

यसमा कम्पनीको कुनैपनि हात नरहेको र गायत्री कोल्ड स्टोरले जानी–जानी उपभोक्तालाई म्याद नाघेको वियर विक्री गरेकाले कानून अनुसार उसैलाई कार्वाही हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत जिल्ला अध्यक्ष कुमारी भुसालले मदिराजन्य कम्पनीहरुले  उपभोक्तालाई ठगी गर्दै आएकाले उनीहरुलाई मुलुकी अपराध संहिताको ठगी महलअन्तर्गत मुद्दा चलाउनुपर्नेमा उपभोक्ता संरक्षण ऐन २०७५ मा ठगी खानेहरुलाई उन्मुक्ति दिन खोजिएको बताईन् ।

उनले भनिन्, ‘सो ऐनमा म्याद गुज्रिएको सामान बजारमा भए जफत गर्ने र कम्पनीलाई ३ लाखसम्म जरिमाना गराउने व्यवस्था भएकाले कम्पनीलाई ३ लाख जरिमाना तिर्नु ठूलो कुरा होइन ।’

गर्मी मौसममा बियरको माग पनि धेरै हुने गर्छ । सिल्ड गरिएको बियर फ्रिजविना ६ देखि ८ महिनासम्म पिउनयोग्य मानिन्छ भने फ्रिजमा राखिएको ९ महिनाभित्र सामान्यतया यसलाई प्रयोग गरिनुपर्छ ।

तर म्याद नाघेको महिनाको अवधिसम्म पनि बिक्रेताहरूले बियर बेचिरहेको भेटिएको छ । म्याद गुज्रिएको बियर बजारमा भेटिनुलाई व्यापारिक कारण मानिएको अनुगमन टोलीको भनाइ छ । म्याद गुज्रिएको कुनै पनि सामग्री बिक्री गर्नु दुवै पक्षलाई हित हुँदैन् ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार
Translate »