२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

भन्सार दरका कारण सुनको मूल्य बढ्यो



काठमाडौँ । पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्दै आएको भन्सारदरमा वृद्धि गरेका कारण सुनको मूल्य बढ्न गएको हो । गत मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले संसद प्रस्तुत गरेको बजेटमार्फत भन्सार दरलाई १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्‍याएको छ । त्यसको असरले सुनको मूल्य यो साताभर निरन्तर बढ्दै गएको हो ।

गत साताको पहिलो दिन प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि जेठ ७ गते एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर एक लाख ३६ हजारसम्म पुगेको थियो । त्यसपछि पुनः लगातार बढ्दै गएर पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।

महासंघका अनुसार गत साताको सोमबार एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार पुनः एक हजार रुपैयाँ बढेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार मूल्य बढेर एक लाख ४० हजार पाँच सय रुपियाँ पुगेको सुनको मूल्य शुक्रबार पुनः बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कायम भएको महासंघको तथ्यांक छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यो साता विश्व बजारमा सुनको मूल्य उच्च रहेको छ । अमेरिकी डलरको मजबुती कायम रहन नसक्दा र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावटलगायतका कारणले सुनको मूल्य बढेको विश्लेषकको भनाइ छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजेटमार्फत भन्सार शुल्क बढेका कारण सुनको मूल्य एक्कासी बढ्न गएको बताए । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको र थप बजेटमार्फत भन्सार शुल्क बढ्दा बजारमा मूल्य बढ्न गई कारोबार सुनसान अवस्थामा रहेको उनको भनाइ छ । जेठ महिनामा लगनको सिजन भएकाले पनि बजारमा सुनको माग न्यून आएको उनको भनाइ छ । बजारमा नयाँ गहना किन्नेभन्दा पनि घरखर्च चलाउन पुराना गहना बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीको भनाइ छ ।

यसअघि प्रतितोला सुन आयात गर्दा २२ हजार रुपैयाँ भन्सार शुल्क तिर्नु परेकोमा अब बढेर २८ हजार पुगेको छ । व्यवसायीका अनुसार जेठ महिनामा बजारमा सुनको कारोबार घटेर दैनिक पाँचदेखि १० किलो मात्र हुने गरेको छ । बजारमा माग न्यून हुँदा अधिकांश बैङ्कमै पर्याप्त मात्रामा सुनको मौज्दात रहेको व्यवसायीको भनाइ छ ।

साढे एक्काइस अर्बको सुन आयात

यसैबिच भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा (साउन–वैशाख) सम्म २१ अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबरको दुई हजार ४५१ किलो सुन आयात भएको छ । मूल्य बढेका कारण बजारमा खपत कम हुँदा गत वर्षको तुलनामा सुनको मूल्य ५० प्रतिशतले कम भएको तथ्यांकले देखाएको छ । विभिन्न वाणिज्य बैंकले सुनको आयात गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुनको कोटा निर्धारण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेठ २० गते आइतबार
Translate »