कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट

असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गरेको कुल बजेटमध्ये चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत बजेट विनियोजन गरिएको छ । पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ६९.७ प्रतिशत बजेट सरकारले विनियोजन गरेको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले बताए ।

 


यता मन्त्रालयगत रुपमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको छ भने सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ । कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षमा कृषि, उद्योग र सेवा क्षेत्र बढ्ने, पूजिगत खर्च बढ्ने, पूर्वाधार निर्माणले गति लिने, महामारी एवम आर्थिक सिथिलता कम भई ५ दशमलव ८ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने मन्त्री केसीले बताए ।

मन्त्री केसीले आगामी आर्थिक बर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार, चालु आवको खर्च नभई बचत हुने अनुमानित रकम ५ अर्व १३ करोड ८१ लाख २६ हजार, संघीय सरकारको राजस्व बाडफाडबाट ९ अर्व ३८ करोड ५३ लाख, वित्तिय सामान्यीकरण अनुदान १० अर्व ३६ करोड ६३ लाख र ससर्त अनुदान ३ अर्व ७१ करोड ५० लाख र संघीय सरकारको समपुरक अनुदान १ अर्व २८ करोड ५० लाख एवम विशेष अनुदान ६७ करोड ६५ लाख रहेको बताए । यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।

Translate »