ऊन र नूनको सम्बन्ध : कहिले खुल्ने उत्तरी नाका ‘नाक्चे लाक्ना’ ?

गमगढी । मुगुको उत्तरी व्यापारिक नाका नाक्चे लाक्ना खुल्नेमा अझै अन्यौलता कायमै रहेको छ ।

कोरोना महामारी ताका बन्द भएका उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएका नेपालका १४ ओटा व्यापारिक नाकाहरु हालसम्म नखोल्दा व्यापारी लगायत सीमा आसपासका नागरिकहरुलाई समस्या भईरहेको छ ।

मुगुलगायत नेपालका १४ ओटै परम्परागत उत्तरी व्यापारिक नाका खोल्ने तयारी भएको खबर सरकारी स्तरबाट बाहिर आएपनि नाका कहिले खुल्ने हो ? कुनै टुङ्गो नभएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

उनले भने, ‘गत वर्ष पनि उत्तरी नाक्चे लाग्ना नाका खुल्ने हल्ला व्यापक भयो तर अन्तिम समयसम्म पनि नाका खुलेन सबै करानबासी निराश हुनु पर्‍यो । यो वर्ष पनि हल्ला चलेको छ के हुने हो ? विश्वास त लाग्दैन ।’ यस वर्ष नाका खुल्ने हल्ला त सुनेको छु तर आधिकारिक जानकारी कतैबाट पनि नआएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

उनले चिनियाँ हाट बजारमा जाने व्यापारी तथा अन्य सर्व साधारणहरूको सहजताको गत वर्ष ४ सय थान परिचय पत्र समेत व्यवस्था गरिएको भएपनि नाका नखुल्दा प्रयोगमा नआएको जानकारी दिए ।

कोरोना महामारीको समयदेखि हालसम्म यो नाका बन्द हुँदा सिङ्गो कार्मारोङ गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य बस्तुको व्यवस्थापन गर्न कठिन हुने गरेको छ ।

विगतमा चीनले हरेक वर्ष असार र साउनमा उत्तरी नाका नाक्चेनाङ्ला खोल्ने गरेको थियो । त्यसबाट सिमानाकाका बासिन्दालाई राहात स्वरुप निःशुल्क दैनिक उपभोग्य सामाग्रीहरु वितरण समेत गर्दै आएको थियो ।

त्यसबेला कार्मारोङ गाउँपालिका भित्रका १७ वटा बस्तीका बासिन्दा खाद्य बस्तु किनमेल गर्न तिब्बत पुग्थे । एक पटक उताबाट सामान ल्याएपछि त्यसले वर्ष दिन सम्मको काम चल्ने गर्दथ्यो ।

तर कोभिड महामारीयता जीवन कष्टपूर्ण वनेको मगुम कार्मारोङ गाउँपालिका–७, का स्थानीय लाक्पा लामाले बताए । उनले भने, ‘यस वर्ष जसरी भएपनि यो नाका खोल्नु पर्छ । नत्र सारै समस्या हुनेछ । हामी कार्मारोङका बासिन्दा हाट खुल्ने दिन कुरेर बसेका छौं ।’

लामो समयदेखि उत्तरी नाका बन्द हुँदा जडीबुटीदेखि स्थानीय उत्पादनले समेत उचित मूल्य नपाएको उनको गुनासो छ । यार्सागुम्बा समेतको मूल्य अन्यत्र भन्दा तिब्बतमा राम्रो पाईने गरेको लामाले जानकारी दिए ।

पहिले वन क्षेत्रमा सङ्कलन हुने अतीस, कटुकी, वनलसुन, यार्सा लगायत जडीबुटी तिब्बतमा निर्यात हुने गर्थ्यो भने अहिले नाका बन्द हुँदा जडीबुटी स्थानीयले गाउँ देखि घोडा खच्चर मार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा राखेर नेपालगञ्जहुँदै भारतसम्म पुर्‍याएर सस्तोमा बेच्नु पर्ने बाध्यता रहेको व्यापारीहरुको गुनासो छ ।

पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने नुन, तेल, चामल, मैदा, चियापत्ती, छुर्पी लुगालत्ता विद्युतीय सामाग्री ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङका स्थानीयलाई अहिले खानपानमा समेत सारै समस्या भएको बताउँछन् ।

गमगढीलगायत अरु स्थानमा भनेको जस्तो सर सामान नपाउँदा आफूहरुलाई नमजा लाग्ने गरेको स्थानीय बासिन्दा पात्मा नुर्बु लामाले बताए ।

‘तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले सारै दुख छ,’ मह गाउँकी पासङ्लामु लामाले भनिन्,’ ‘दुई दिन हिँडेर गमगढी पुगेर नुन, चामल तेल ल्याएर खानु परेको छ ।’

उनका अनुसार तिब्बत जाँदा भनेको जस्तो सस्तो र सुलभमा सामान खरिद बिक्री गर्न पाईने र ढुवानी गर्न समेत नजिक पर्ने गरेको छ । स्थानीय बस्तुको बजार मूल्य समेत तिब्बतमा राम्रो पाइने गरेको उनको अनुभव छ ।

मुगुलगायत नेपालका १४ ओटै चीनसँग सीमा जोडिएका उत्तरी नाका खुलाउनको लागि चीन सरकार सहमत भएको खबर परराष्ट्र मन्त्रालयमा आएको र यो वर्ष साउन अन्त सम्म नाका खोल्ने निश्चित भएको प्रतिनिधिसभाका सदस्य ऐनबहादुर शाहीले जानकारी दिए ।

Translate »